हेटौँडाः नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभा हेटौँडामा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार बिहान साधारणसभाको उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रले चुनौती अवस्था सामना गरिरहेको बेला आफुले सरकार नेतृत्व गरेको बताउनुभयो । अहिले अर्थतन्त्रमा सुधार ल्याउन मिहिनेत गरिएको र गत सालको जति संकटमा नरहेको बताउनुभयो । पुँजीगत खर्च कम हुने अवस्थालाई अन्त्य गर्न आयोजनाको छनोट गरी आवश्यक बजेट विनियोजन गर्न आफू लागिरहेको पनि उहाँले बताउनुभयो ।

यस्तै साधारणसभालाई सम्बोधन गर्नुहुँदै महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीहरुलाई नकारात्मक दृष्टिकोणले हेर्न थालिएको बताउनुभयो । सरकारले निर्माण सम्पन्न भएका कामको भुक्तानी समयमा दिन नसक्दा अरु काम समयमा गर्न नसकिरहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरुको रोकिएको भुक्तानी चाँडो निकासा गर्न आग्रह गर्नुभयो । सरकारले अहिले पुँजीगत खर्च गर्न नसक्दा देशमा विकासमा ढिलाई भइरहेको उहाँको भनाई छ । उहाँले सार्वजनिक खरिद ऐनलाई चाँडोभन्दा चाँडो संशोधन गरेर लगानीमैत्री वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

साधारणसभा शनिबारसम्म चल्नेछ । साधारणसभाको अवसरमा महासंघका पूर्व अध्यक्षहरु ध्रुव कार्की र रोशन श्रेष्ठलाई सम्मान गरिएको छ । साधारणसभामा प्रतिनिधि सभाको पूर्वाधार समितिका सभापति दीपक बहादुर सिंह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, बागमती प्रदेश सभाका प्रमुख यादव चन्द्र शर्मा, सभामुख भुवन कुमार पाठकको पनि उपस्थिति रहेको छ । साधारणसभामा देशभरबाट एक हजार एक सय प्रतिनिध व्यवसायी र पाँच सय पर्यवेक्षकको सहभागिता रहेको छ ।