हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पालिकामा रहेका ३७ वटा विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनु अघि पालिकाले बुधबार सबै विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको हो । पालिकाले पहिलो पटक प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको हो । प्रधानाध्यापकले पनि शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्ने बताइएको छ ।
पालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको रोहवरमा पालिकाको शिक्षा शाखाका प्रमुख राम घलान र प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता भएको छ । पालिकाको शिक्षा शाखाले कार्यसम्पादन सम्झौताको मस्यौदा तयार पारेर पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विद्यालयका प्रधानाध्यापकलाई उपलब्ध गराएर प्राप्त सुझावलाई समेत समेटर कार्यसम्पादन सम्झौताको अन्तिमरुप तयार पारेर सम्झौता गरिएको पालिकाका शिक्षा शाखा प्रमुख राम घलानले जानकारी दिनुभएको छ । मस्यौदामाथि नै छलफल गरेर प्राप्त सुझावअनुसार कार्यसम्पादन सम्झौता गरिएकोले प्रभावकारी कार्यान्वयनको आधार समेत तयार पारिएको घलानको भनाइ छ ।
२४ बुँदे कार्यसम्पादन सम्झौताअनुसार प्रधानाध्यापकले चैत मसान्तभित्र आगामी शैक्षिक सत्रको वार्षिक कार्यतालिका तयार गर्नुपर्ने छ । पार्नुपर्नेछ । विद्यालय सुधार योजना निर्माण गर्ने, हरेक शिक्षकले वार्षिक शैक्षिक योजना बनाउने, शैक्षिक उपलब्धी वृद्धिको योजना बनाउने, विपद् प्रतिकार्य योजना निर्माण गर्ने, बालमैत्री बसाई व्यवस्थापन र भयरहित सिकाई वातावरण सुनिश्चित गर्ने सम्झौतामा समेटिएको छ । शिक्षण सिकाई योजना बनाउने, विद्यार्थीको नियमितता र सिकाई अवस्थाका बारेमा अभिभावकसँग त्रैमासिक अन्तरक्रिया गर्ने, श्रव्य–दृश्य सामग्रीसहितको सिकाई क्रियाकलापका लागि पूर्वाधार निर्माण गर्ने, विद्यालयको वार्षिकोत्सव र अभिभावक दिवस हरेक वर्ष अनिवार्यरुपमा मनाउने, फिडर विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि लिडर विद्यालयले आवश्यक सहजीकरण गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
कार्यसम्पादन सम्झौतासँगै गाउँपालिकाले प्रधानाध्यापकहरुलाई आगामी शैक्षिक सत्रको क्यालेण्डर वितरण गरेको छ । यस्तै शिक्षक सरुवा तथा व्यवस्थापन कार्यविधिको मस्यौदामाथि छलफल गर्दै गाउँपालिकाले २०८१ जेठ मसान्तभित्र अनिवार्य तथा निशूल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा गर्ने कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
मकवानपुरगढी गाउँपालिकाको शिक्षा शाखाले बिहिबार गाउँ शिक्षा योजना निर्माणसम्बन्धी कार्यशालाको आयोजना गरेको छ भने चैत २१ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई उनीहरुको भूमिकाका विषयमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै छ । चालु शैक्षिक सत्रको ९ कक्षासम्मको परीक्षा सम्पन्न गरिसकेको मकवानपुरगढी गाउँपालिकाबाट यस वर्ष एसईईमा दुई सय ६२ विद्यार्थी सहभागी हुँदैछन् । १० वटा माध्यमिक तहका विद्यालयमा कक्षा १० मा तीन सय २५ जना विद्यार्थी भर्ना भएका थिए । यस्तै आधारभूत तह (कक्षा–८) को परीक्षामा तीन सय ७४ जना विद्यार्थी सहभागी भएका छन् । यस्तै १ कक्षादेखि ९ कक्षासम्म (८ कक्षाबाहेक) चार हजार आठ सय ३८ जना विद्यार्थी भर्ना भएकोमा चार हजार एक सय ४५ जनाले मात्रै वार्षिक परीक्षामा सहभागिता जनाएका छन् ।
चालु शैक्षिक सत्रको वार्षिक परीक्षाको नतीजा चैत २५ गते प्रकाशन गर्दै चैत २६ गतेदेखि अभिभावक भेटघाट कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको शिक्षा शाखाका फोकल पर्सन कमल फुयाँलले जानकारी दिनुभयो । अभिभावक भेटघाट कार्यक्रममा जनप्रतिनिधि र वडा शिक्षा समितिका पदाधिकारी सहभागी हुने उहाँले बताउनुभएको छ । २०७६ सालदेखि विद्यालयका सबै तहका विद्यार्थीका लागि खाजा कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कक्षा ६–१२ का लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।