हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले निजी विद्यालयहरुको वर्गीकरणको कार्य थालनी गरेको छ । संघीय सरकारको शिक्षा मन्त्रालयले निजी विद्यालयको शूल्क निर्धारणमा कडाई गर्न परिपत्र गरेपछि निजी विद्यालयको शूल्क निर्धारणको पहिलो चरणको रुपमा हेटौँडा उपमहानगरपालिकाले विद्यालय वर्गीकरणको प्रक्रिया थालनी गरेको हो ।
हेटौँडा उपमहानगरपालिकाको विद्यालय वर्गीकरण सिफारिस समितिको बैठक सोमबार बसेको हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत रमेश विडारीले जानकारी दिनुभएको छ । बैठकले एक साताभित्र नगर क्षेत्रका निजी विद्यालयलाई विद्यालयको स्वमूल्यांकनको खाका तयार पार्ने निर्णय गरेको समितिका सदस्य सचिव समेत रहनुभएका शिक्षा अधिकृत विडारीले जानकारी दिनुभएको छ । विद्यालयको स्वमूल्यांकनपछि समितिले अनुगमन गरेर विद्यालयको वर्गीकरण गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
यसअघि हेटौँडा उपमहानगरपालिकाका शिक्षा महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटाले कर्मचारीको अभावका कारण निजी विद्यालयको वर्गीकरण र शूल्क निर्धारणको कार्य नहुने जीकिर गर्नुभएको थियो । पालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्व रहने विद्यालय वर्गीकरण सिफारिस समितिको सिफारिसमा नगरप्रमुख संयोजक रहने नगर शिक्षा समितिले निजी विद्यालयहरुको वर्गीकरण गर्नेछ ।
सिफारिस समितिले हेटौँडा उपमहानगरका ४२ वटा विद्यालयलाई क, ख, ग र घ गरी चार वर्गमा विभाजन गर्नेछ । उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विद्यालय व्यवस्थापन समितिको निर्णयसहित आगामी शैक्षिक सत्रको शूल्क प्रस्ताव गर्न जानकारी गराएबमोजिम नगरका ४० वटा विद्यालयले शूल्क प्रस्ताव पेश गरेका छन् । निजी विद्यालयको शूल्क निर्धारणको प्रक्रिया पूरा नहुँदै विद्यालयहरुले नयाँ भर्ना सुरुवात गरिसकेकोले शूल्कको वैधतामाथि भने प्रश्न उब्जिएको छ । यद्यपि उपमहानगरपालिकाले चैत मसान्तअघि नयाँ भर्ना नलिन भनेको शिक्षा महाशाखाका अधिकृत रमेश विडारीले बताउनुभएको छ ।