हेटौंडाः मकवानपुर जिल्लाका ६ वटा पालिकामा सञ्चालित गर्भपतन सम्बन्धी परियोजनाको समीक्षा कार्यक्रम भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइपास नेपालसँगको सहकार्यमा महिला, बालबालिका तथा वातावरण सुधार केन्द्र (वोचिन्ड) मकवानपुरले सञ्चालन गरेको परियोजनाबारे समीक्षा गरिएको हो ।
मकवानपुरको थाहा नगरपालिकासहित मनहरी, बकैया, बागमती, भीमफेदी र कैलाश गाउँपालिकामा गर्भपतन सम्बन्धी परियोजना सञ्चालन गरिएको थियो । ४ वर्षसम्म सञ्चालन भएको परियोजना कार्यान्वयनका चरणमा भएका अभ्यास र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा वोचिन्ड मकवानपुरले जानकारी गराएको थियो ।
ओचिन्ड मकवानपुरकी कार्यक्रम अधिकृत सुप्रिमा सापकोटाले सुरक्षित गर्भपतनका बारेमा सचेतना अभिवृद्धि गर्ने गरी समुदायस्तरमा १०४ वटा अभिमुखीकरण कार्यक्रम गरिएको, ३४ वटा विद्यालयमा अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिनुभयो । मकवानपुर जिल्लामा १० वटा सरकारी तथा ३ वटा निजी क्षेत्रका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिन सकिन्छ । ओचिन्डले पालिकास्तरीय अभिमुखीकरण गर्नुका साथै सडक नाटक, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरेको जनाएको छ ।