हेटौंडाः तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता वीरगञ्ज युनाइटेड क्लबले उचालेको छ । शक्ति युवा क्लबको आयोजनामा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा हेटौंडा फुटबल एकेडमी मकवानपुरलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै वीरगञ्जले उपाधि जितेको हो ।
परवानीपुर खेल मैदानमा भएको फाइनल खेलको पहिलो हाफको ३० औं मिनेटमा वीरगञ्ज युनाइटेड क्लबका खेलाडी उदीतनारायण चौधरीले पहिलो गोल गरे । सुरुदेखि दबादमा रहेको हेटौंडा फुटबल एकेडमीले खेलको मध्यान्हमा दुई खेलाडी परिवर्तन गरेको थियो । खेलाडी परिवर्तनपछि पनि खेलको अन्त्यसम्म दबाबमा रहेको हेटौंडा फुटबल एकेडमीले खेलको ८५ औं मिनेटमा गोल फर्कायो । उक्त गोल एकेडमीका खेलाडी सखिल गुरुङले गरेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिम १–१ गोल गर्दै बराबरी खेलेपछि खेल टाइबे्रकरमा धकेलिएको थियो । टाइबे्रकरमा हेटौंडा फुटबल एकेडमीका पाँच जना खेलाडीमध्ये दुई खेलाडी गोल गर्न नसकेपछि पराजित हुन पुगेको हो । टाइबे्रकरमै वीरगञ्ज युनाइटेड क्लबका पाँच जना खेलाडीमध्ये चार खेलाडीले गोल गरेका थिए । खेलमा म्यान अफ दि म्याच हेटौंडा फुटबल एकेडमी मकवानपुरका सखिल गुरुङ घोषित भए । उनलाई सागर राणाले नगदसहित शिल्ड प्रदान गरेका थिए ।
प्रतियोगितामा विजेता वीरगञ्ज युनाइटेडले नगद दुई लाख एक हजारसहित शिल्ड पाएको छ । विजेता टिमलाई परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले नगदसहित शिल्ड प्रदान गरेका थिए । यस्तै, उपविजेता हेटौंडा फुटबल एकेडेमी मकवानपुरले एक लाख एक हजारसहित शिल्ड पाएको छ । उपविजेतालाई वडाअध्यक्ष राधाकृष्णा साह रौनियार र समाजसेवी नागमणि उपाध्यायले नगदहित शिल्ड प्रदान गरेका थिए ।