हेटौंडाः नेपाली भाषा शिक्षक समिति मकवानपुरको पाँचौँ वार्षिक जिल्ला भेला सम्पन्न भएको छ । शनिबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा नेपाली भाषा शिक्षक समितिका अध्यक्ष केशवप्रसाद सञ्जेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाली भाषा शिक्षक समितिका सचिव ज्योति न्यौपानेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मकवानपुरमा २०५८ साल असार १५ गते नेपाली भाषा शिक्षक समिति गठन गरी समितिलाई पूर्णता दिइएको उहाँले बताउनुभयो । मकवानपुरका २६ जना माध्यमिक तहका नेपाली विषयको शिक्षकहरुको भेलाले समिति गठन गरेको थियो । समितिको संस्थापक संयोजकमा नेपाली भाषा शिक्षक एवम् त्रिभुवन माध्यमिक विद्यालय नवलपुरका तत्कालीन प्रधानाध्यापक ध्रुवप्रसाद भट्टराई हुनुहुन्थ्यो । भट्टराईको संयोजकत्वमा ११ सदस्यीर्य नेपाली भाषा शिक्षक समिति मकवानपुर गठन भएको थियो । समितिले संस्था नवीकरणको लागि आवश्यक प्रक्रिया पूरा गर्नेजस्ता विभिन्न कार्य गरेको उहाँको भनाइ छ ।
आगामी दिनमा संस्थाले भाषाको विकास हुने कार्यक्रमहरू, कविता, कथा, निबन्ध प्रतियोगिता सञ्चालन गर्ने, वादविवाद, वक्तृत्वकला प्रतियोगिता, शुद्ध पठन, द्रुत पठन प्रतियोगिता सञ्चालन गर्ने, जिल्लामा क्रियाशील साहित्यिक संस्थाहरूसँग सहकार्य गरी बालबालिकाहरूलाई भाषा साहित्यमा रुचि जगाउने कार्यक्रम गर्ने, नेपाली व्याकरणका बारेमा प्रतियोगितात्मक कार्यक्रम सञ्चालनजस्ता कार्य गर्ने योजना रहेको सचिव न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष सुशीला चौलागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थामा बैंक मौज्दात, सदस्यता नवीकरणबाट ६४ हजार ४९ रुपैयाँ रकम रहेको र विभिन्न शीर्षकमा ५३ हजार ७ सय खर्च भएको जानकारी गराउँदै बैंक मौज्दात ११ हजार ५९ रुपैयाँ रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार रामचन्द्र आचार्य फुर्सती, संस्थाका विशिष्ट आजीवन सदस्य धु्रवकुमार भुजेल, संस्थाका सल्लाहकार विष्णु गौतम, हयग्रीव आचार्य, नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाका अध्यक्ष भोगेन्द्रप्रसाद लुईंटेललगायत विभिन्न विषयगत संस्थाका अध्यक्ष शिक्षकहरुको उपस्थिति रहेको थियो ।
हेटौंडा उपमहानगर अध्यक्षमा आचार्य
हेटौंडाः नेपाली भाषा शिक्षक हेटौंडा उपमहानगरपालिका समितिको अध्यक्षमा पुरुषोत्तम आचार्य चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको पाँचौँ वार्षिक जिल्ला भेलाको अवसरमा आचार्यको अध्यक्षतामा उपमहानगर समिति चयन भएको हो ।
समितिको सचिवमा सीएम रिमाल र कोषाध्यक्षमा गोमादेवी दाहाल रहनुभएको छ । संस्थाको सदस्यहरुमा अर्चना दाहाल, नवीना महत, मनिता सिंह, विधान आचार्य, केशव न्यौपाने, निश्चल श्रेष्ठ, दिपेश लामिछाने र सुन्दर लुईंटेल चयन हुनुभएको छ ।