प्रशिक्षणपछि सामुहिक तस्बीर खिचाउँदै ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा बालश्रम अन्त्यका लागि कार्यविधि कार्यान्वयन गरिने भएको छ । गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यबिधि कार्यान्वयनका लागि आवश्यक काम गर्ने भएको हो ।

बालश्रम निवारणमा क्षेत्रगत अवधारणा र स्थानीय तहको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुरुप पालिकाले कार्य गर्ने बताउनुभयो । उहाँले यसका लागि विकासका साझेदार संस्था र नागरिक समाज सञ्जालहरुलाई सहकार्यका लागि आग्रहसमेत गर्नुभएको छ । अध्यक्ष लामिछानेले यसअघि बालकल्याण समाजसँगको सहकार्यमा बालमैत्री सहजकर्ताहरुलाई दिइएको तालिमपश्चात् गरिएको बालश्रम अनुगमनको स्मरण गर्नुहुँदै अहिले पालिका मिहिन ढंगबाट बालश्रम अन्त्य गर्न क्रियाशील रहेको बताउनुभयो । उहाँले बालश्रम अन्त्यका लागि रोजगारदाताहरुसँग गहन छलफल गर्ने योजना रहेको भन्दै यस सम्बन्धमा आवश्यक नीतिहरु परिमार्जन गर्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी वर्षबाट पालिकाले विकासको मोडेल परिवर्तन गर्दै मानवीय विकासमा लगानी बढाउने बताउनुभयो । उहाँले बालबालिकाको क्षेत्रमा लगानी बढाउँदै अब बालश्रममुक्त, बालबिबाहमुक्त गर्दै बालबालिकाको शिक्षामा लगानी अभिबृद्धि गर्ने जानकारी दिनुभयो । विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा ल्याउन विशेष पहल गरिने उहाँले बताउनुभयो । उपाध्यक्ष खत्रीले बालबालिकालाई विद्यालयमा टिकाउन विशेष कार्ययोजना ल्याउनेसमेत जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले स्थानीय सरकार र नागरिक समाजबिचको सहकार्यबाट बालश्रममुक्त गर्ने अभियानमा पालिकाले सफलता हासिल गर्दै गएको र बालमैत्री अभियान सञ्चालन गर्दै आएको बताउनुभयो । बालश्रम अन्त्यका लागि कार्ययोजना बनाउन सहकार्य गर्दै कार्यगत एकतासमेत गरेकोमा उहाँले संघसंस्थालाई धन्यवाद दिनुभयो ।

दिगो विकास लक्ष्य ८.७ का लागि नागरिक समाज सञ्जाल बागमती प्रदेश अध्यक्ष तथा बालकल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले नागरिक समाज सञ्जालले स्थानीय सरकारसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो । बालश्रममुक्त, बालबिबाहमुक्त, विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय भर्ना, सिमान्तकृत एवम् बिपन्न बालबालिकालाई निःशुल्क तथा अनिवार्य शिक्षा, गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने अभियानमा सहकार्य गर्न सकिने खतिवडाको भनाइ छ । उहाँले पालिकाको नीति बनाउन र नीतिमा आवश्यकताको आधारमा परिमार्जन गर्नसमेत सहकार्य गर्न सकिने बताउनुभएको छ ।

ग्लोबल मार्चका कार्यक्रम प्रबन्धक एन्जेला सोलानोले बालश्रम अन्त्यका लागि स्थानीय सरकारलाई आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले पालिकाले बाल संरक्षणका लागि गरेको कार्यको प्रशंसासमेत गर्नुभयो । सोलोनाले बकैया गाउँपालिका छिट्टै बालश्रममुक्त घोषणा भएको हेर्ने र सुन्ने चाहना व्यक्त गर्नुभयो । कार्यक्रममा बाल अधिकारकर्मी आत्माराम थापाले सहजीकरण गर्नुभएको थियो । उहाँले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ मा भएका मुख्य व्यवस्थाहरु, दिगो विकास लक्ष्य, बालश्रम अत्यका लागि भएका नीतिगत व्यवस्थाका बारेमा जानकारी दिनुभयो । कार्यक्रममा बालश्रम अन्त्यका लागि यसअघि तयार पारिएको कार्ययोजनाको समीक्षा गर्दै आगामी योजनाका बारेमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु राजन दंगाल, लक्ष्मी जिम्बा, टंकध्वज लोप्चन, भुमल सिं घलान, गोपाल न्यासुर, ज्ञानेन्द्र बजगाई, स्वतन्त्रता अभियानका कार्यक्रम प्रबन्धक प्रतीक्षा केसी, नेपाली कांग्रेसका दिलबहादुर भोम्जन, एमालेका सुस्मिता घोरासैनी, माओबादीका मोतीलाल सिंगार, राष्ट्रिय स्वतन्त्र पार्टीका अमर दंगालको आतिथ्य थियो । यस्तै, बकैया गाउँपालिकाको विभिन्न शाखा प्रमुखहरु, बालमैत्री सहजकर्तालगायतको सहभागिता थियो ।

कार्यक्रममा श्रमिक बालबालिकाको आबाजको सुनुवाईलाई प्राथमिकीकरण गर्ने, गाउँपालिकाबाट बालबालिकालाई श्रमबाट शिक्षामा रुपान्तरण गर्ने, विद्यालय नजाने बालबालिकालाई सिपमूलक तथा आयमुलक तालिम सञ्चालन गर्दै उत्पादित सामग्रीको बजारीकरणमा सहयोग गर्ने, ड्रपआउट घटाउने र विद्यालयमा बालमैत्री वातावरण सिर्जना गर्नेबारे समेत छलफल भएको थियो । कार्यक्रममा दिगो विकास लक्ष्य ८.७ का लागि नागरिक मञ्चद्वारा प्रकाशित अध्ययन सामग्री प्रदान गरिएको थियो ।