हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा आयोजना भएको दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि १० नम्बर वडाले जितेको छ । शनिबार कैलाश–९, नामटारमा भएको फाइनल खेलमा वडा नम्बर ५ लाई ३–० गोलले हराउँदै वडा नम्बर १० ले उपाधि जितेको हो ।
वडा नम्बर १० को जितमा सुमन स्याङ्तानले दुई र बुद्ध थिङले एक गोल गरे । खेलको म्यान अफ द म्याच स्याङ्तान घोषित भए । विजेता १० नम्बर वडाले ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ५ नम्बर वडाले ६० हजार रुपैयाँमा चित्त बुझाएको छ ।गत संस्करणमा पनि वडा नम्बर ५ लाई २–१ गोलले हराउँदै वडा नम्बर १० ले उपाधि जितेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नम्बर ५ का हीरा सिन्तान घोषित भए । यस्तै, उत्कृष्ट फरवार्ड वडा नम्बर १० का सुमन स्याङ्तान, उत्कृष्ट मिडफिल्डर वडा नम्बर ५ का खड्कलाल मोक्तान, उत्कृष्ट गोलरक्षक वडा नम्बर १० का विशाल वाईबा, उत्कृष्ट डिफेन्डर वडा नम्बर ५ का मीनबहादुर मोक्तान र सर्वाधिक गोलकर्ता वडा नम्बर १० का बुद्ध थिङ घोषित भए ।
विजेता र उपविजेता टिमलाई कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकृष्ण मल्ल, कैलाश गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष मोहन वाइबालगायतले पुरस्कार वितरण गर्नुभएको छ । प्रतियोगितामा वडा नम्बर १० ले सेमिफाइनलमा वडा २ लाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने उपविजेता वडा नम्बर ५ ले सेमिफाइनलमा वडा नम्बर ६ लाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा २ नम्बर वडाका वडाध्यक्ष राजेन्द्र तामाङ घिसिङ, ९ का वडाध्यक्ष भुवन घलान, १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन र पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका लगायतको उपस्थिति रहेको थियो ।