वैदेशिक रोजगारीको नाममा हुने गरेको मानव बेचविखन मुलुकको ठूलो सामाजिक समस्या बनेको छ । विगतमा चेलीबेटी बेचविखन बढी हुने गरेको पछिल्लो समय वैदेशिक रोजगारीका नाममा महिला र पुरुष दुबै बेचविखनमा पर्ने गरेका छन् । विभिन्न देशमा रोजगारी वा अन्य उद्देश्यलेमा नेपालीलाई प्रभावित पारेर लैजाने र फरक काममा लगाउने परिपाटी बढ्दै गएको छ । रोजगारीमा जान अनुमति नै नपाएको देशमा श्रम स्वीकृतिबिना गैरकानुनी माध्यमबाट जानेहरु नै बेचविखन पर्ने र अन्य जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यतामा पुग्ने गरेका छन् । छोटो समयमा धेरै पैसा कमाउन सकिने दलालको प्रलोभनमा परेर विदेशिने र जोखिमपूर्ण काम गर्नुपर्दा मृत्युसमेत हुने गरेको धेरै घटनाले पुष्टि गरिरहेको छ । विभिन्न युद्ध/द्वन्द्वग्रस्त देशमा पुगेकामात्र नभई युद्धमै सामेल भएर जोखिमपूर्ण अवस्थामा रहेका थुप्रै नेपालीले मृत्युवरण गर्ने गरेका छन् ।

रुसी सेनामा संलग्न भएर रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या पनि उल्लेख्य रहेको छ । नेपालीलाई रुसी सेनामा भर्ती हुने अनुमति सरकारले दिएको छैन । झन् रुस र युक्रेनबीच झण्डै दुई वर्षदेखि युद्ध चलिरहेको अवस्थामा नेपालीलाई रुसी सेनामा भर्ती हुने अनुमति सरकारले दिने कुरै भएन । तर, हजारौं नेपाली रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा सामेल भइरहेको अवस्थाले मानव तस्करीको ठूलो सञ्जाल सक्रिय रहेको अुनमान गर्न सकिन्छ । रुस–युक्रेन युद्धमा ३२ जना नेपालीले ज्यान गुमाइसकेको तथ्यांकले पनि थुप्रै नेपालीहरु रुसी सेनामा भर्ती भएको पुष्टि गर्दछ । हालैमात्र रुस–युक्रेन युद्धको क्रममा मकवानपुरकै २ जनाको मृत्य भएको समाचार सार्वजनिक भएको छ । त्यतिमात्र नभई रुसी सेनामा भर्ती भएर युद्धमा सहभागी भएका मकवानपुरका अन्य २ जनालाई उद्दार गरिदिन परिवारले यसअघि नै आग्रह गरेका थिए । सुरक्षित वैदेशिक रोजगार परियोजना (सामी)समक्ष परिवारले उद्दारमा सघाउन आग्रह गरेका हुन् । युद्धका क्रममा घाइते भई रुसको नियन्त्रणमा रहेको युक्रेनकै क्षेत्रको अस्पतालमा रहेका हेटौंडा–१३ का र युद्धमै खटिरहेका हेटौंडा–११ का अर्का पुरुषको उद्दारका लागि उनीहरुका परिवारले आग्रह गरेका हुन् ।

रुसी सेनामा जागिर लगाइदिने र आकर्षक तलब पाइने दलालको विश्वासमा परेर विदेशिएकाहरु अप्रत्यक्षरुपमा बेचविखनमा परेका छन् । रुसी सेनामा भर्ती हुनासाथ नेपालीहरुलाई पर्याप्त तालिमबिना नै युद्धग्रस्त क्षेत्रमा खटाइने गरेको पाइएको छ । दलालको प्रलोभनमा परेर ८ लाखसम्म बुझाएर रुस पुगेकादेखि विदेशमा रहेका नेपालीसमेत रुसी सेनामा भर्ना भएको पाइएको छ । सेनामा काम गर्दिन भन्दा पनि उम्कन नपाएको भन्दै परिवारले उद्दारका लागि आग्रह गर्ने गरेका छन् । सेनामा भर्ती भएका कतिपय नेपाली परिवारको सम्पर्कमा समेत छैनन् । गैर कानुनीरुपमा रुसी सेनामा भर्ती हुन पुगेका कारण कति नेपाली सेनामा छन् र कुन अवस्थामा छन् भन्ने नेपाल सरकारलाई समेत जानकारी छैन ।

मानिसमा चाँडै धन कमाउने लोभका कारण असुरक्षित र गैरकानुनी वैदेशिक रोजगारीमा पुग्ने र पुर्याउने क्रम चलिरहेको छ । यसले मानव बेचविखन वा तस्करीका घटना बढ्दै गएको छ । वैदेशिक रोजगारीका जहाँ पनि जान खोज्ने र त्यसले पार्ने समस्याका बारेमा सचेत नभएका नेपालीहरु नै यस्ता घटनामा पर्ने गरेका छन् । मानव बेचविखनको परिवर्तित स्वरुपमा वैदेशिक रोजगारीको नाममा हुने मानव तस्करी देखिएको छ । यसले प्रत्यक्षरुपमा नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको देखिए पनि त्यसले अप्रत्यक्षरुपमा बेचविखन भइरहेको छ । कमजोर आर्थिक अवस्था, न्यून शैक्षिक अवस्था, चेतनाको कमी, बेरोजगार, सरकारी उदासिनता, छोटो समयमा धेरै पैसा कमाउने लालसाजस्ता कारणले मानव बेचविखन भइरहेको छ । मानव बेचविखनको एउटा ज्वलन्त उदाहरण बनिरहेको रुसी सेनामा रहेका नेपालीलाई समयमै उद्दार गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ ।