हेटौँडाः विभिन्न घटनामा एकै दिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, धादिङ र काभ्रेपलाञ्चोकमा एकै दिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, दाशढुङ्गामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार बिहान १ बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख ७६४ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्रकले ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान २ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक हेटौँडा–१३ बस्ने ३९ वर्षीय दुर्गा स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन जिल्लाकै भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिक एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा धादिङ जिल्ला घर भएका नरेश अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । अधिकारी गत शुक्रबार बिहान ११ बजेको समयमा भरतपुर महानगरपालिका–१, देबघाटस्थित नारायणी नदीको किनारमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए । बेपत्ता अधिकारी मंगलबार गौरेश्वर मन्दिर पछाडी नारायणी नदीमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१०, तिमल्सिना गाउँमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय खिरेन्द्र तिमल्सिना रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो तिमल्सिना आफ्नो घर नजिक रहेको कटुसको रुखबाट दाउरा झार्ने क्रममा रुखबाट लडेर घाईते भएका थिए । घाइते तिमल्सिनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–९, पात्लेखेतमा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका–८ गौशला घर भएका ४६ वर्षीय सुरज श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठ बिगत केहि समयदेखि पात्लेखेतमा साझेदारीमा सम्राट होटेल सञ्चालन गर्दै आएका थिए । श्रेष्ठ मंगलबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा होटेलको खाटमा बेहोस अवस्थामा फेला परेकोमा थिए । श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा सोही दिन दिउँसो ३ बजेर ४० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।