हेटौँडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि २६ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । मंगलबार एक सूचना जारी गर्दै इकाईले परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी गराएको छ ।
यस वर्ष मकवानपुर जिल्लाको दुर्गम राक्सिराङ गाउँपालिकामा पनि केन्द्र निर्धारण गरिएको छ । राक्सिराङ गाउँपालिकाको प्रजा जागृति माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । मकवानपुर जिल्लाका एक सय २६ विद्यालयका ६ हजार १ सय ६३ विद्यार्थीले एसईईमा सहभागी हुन परीक्षा फारम भरेका छन् । खुलातर्फ ८४ जना परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले जानकारी दिनुभएको छ ।
भीमफेदी कारागारमा एकजना कैदी पनि परीक्षार्थी रहेको बताइएको छ । एसईईका लागि परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पठाउने कार्य भइरहेको छ । चैत १५ गतेदेखि सुरु भएर चैत २७ गते परीक्षा सकिनेछ । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । साधारणतर्फ सात सय पूर्णाङ्कको परीक्षा हुनेछ भने पूरक परीक्षार्थीले आठ सय पूर्णाङ्कको परीक्षा दिनेछन् ।