हेटौँडाः बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा जारी जितपुर–सिमरा क्रिकेट कप टि–२० क्रिकेट प्रतियोगितामा मकवानपुर जिल्लाको क्रिकेट टिम विजयी भएको छ । मंगलबार भएको खेलमा मकवानपुरले धनुषा जिल्लाको जनकपुर पेस फाउण्डेशनलाई २६ रनले पराजित गरेको हो ।
सुमन सुनारको कप्तानीमा रहेको मकवानपुरले पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा एक सय ७५ रन जोडेको थियो । मकवानपुरका लागि शुभ कंशाकारले एक सय ११ रनको योगदान गरे । जवाफी व्याटिङमा उत्रिएको जनकपुरले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ४९ रन मात्रै जोड्न सफल भयो ।
मकवानपुरले समूह चरणको दोस्रो तथा अन्तिम खेल बिहिबार भैरहवाको खुकुरी क्रिकेट क्लबसँग खेल्नेछ । बिहिबारको खेल पनि जित्न सके मकवानपुर फाइनल प्रवेश गर्नेछ । जितपुरको अभियान नेपालले आयोजना गरेको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । फाइनल खेल शनिबार हुनेछ ।