रिभरसाइड क्रिकेट प्रतियोगिताको उपाधिसाथ निब्टा क्लब ।

हेटौंडाः रेड स्वाइल क्रिकेट क्लबको आयोजनामा भएको तेस्रो संस्करणको ६ ए साइड रिभर साइड क्रिकेट प्रतियोगिताको उपाधि साविक उपविजेता निब्टा क्लबले जितेको छ । शनिबार मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सामरीमा भएको फाइनल खेलमा साविक विजेता हेटौंडा एकेडेमीलाई ४ विकेटले हराउँदै निब्टा क्लबले उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि विजेता निब्टा क्लबले ३० हजार रुपैयाँ र उपविजेता हेटौंडा एकेडेमीले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी शुभ डेरीबाट शुभ कंसाकार, उत्कृष्ट ब्याट्सम्यान निब्टा क्लबबाट रवीन गुरुङ र उत्कृष्ट बलर शुभ डेरीबाट राहुल केसरी घोषित भएका छन् । विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको हेटौंडा एकेडेमीले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ५३ रन जोडेको थियो ।

एकेडेमीबाट नितेश बज्राचार्यले २३ रन, रामनरेश गिरीले १७ रन र रमेश लुईंटेलले ८ रन बनाएका थिए । बलिङतर्फ निब्टाबाट युविन बुढाथोकीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको निब्टा क्लबले ५ ओभरमा १ विकेट गुमाएर एकेडेमीले दिएको ५४ रनको लक्ष्य भेट्टायो । निब्टाबाट रवीन गुरुङले सर्वाधिक ३४ रन बनाएका थिए । युविन बुढाथोकीले १० रन र विपुल खनालले ३ रन बनाएका थिए । प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको थियो ।

प्राकृतिक वातावरणसँग रमाउन, प्राकृतिक वातावरणमा समावेश हुन र बाहिरी माहोलमा घुलमिल गराउन वनभोज कार्यक्रमसहित प्रतियोगिताको आयोजना गरेको आयोजकले जानकारी दिएको छ । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन भएको हो ।