हेटौंडा–२ स्थित अञ्चल आयुर्वेद औषधालय ।

हेटौंडाः हेटौंडास्थित अञ्चल आयुर्वेद कार्यालयले आइसोलेसन र क्वारेन्टाइनमा रहेकाहरुलाई प्रतिरक्षा शक्ति बढाउने आयुर्वेद औषधी वितरण गरिरहेको छ । आयुर्वेद कार्यालयले आइसोलेसन र क्वारेन्टाइनमा रहेका व्यक्तिसँगै त्यहाँ खटिएका कर्मचारी र स्वास्थ्यकर्मीलाई पनि प्रतिरक्षा शक्ति बढाउने औषधी वितरण गरेको छ । यस्तै योग शिक्षा तथा नियमित योगाभ्यास समेत गर्न प्रेरित गरिरहेको छ ।

जेठ अन्तिम सातादेखि हेटौंडा–४, कर्रास्थित आइसोलेसन कक्ष, हेटौंडा–१२ र १३ पदमपोखरीमा स्थापना गरिएको क्वारेन्टाइनमा आयुर्वेदिक औषधी वितरण गरिएको अञ्चल आयुर्वेद कार्यालय हेटौंडाकी प्रमुख डा. श्रृष्टि श्रेष्ठले जानकारी दिनुभएको छ । आयुर्वेद कार्यालयले अश्वगन्धा चूर्ण, गुड्डी चूर्ण, सितोपलादि चूर्ण र यष्टिमधु चूर्ण वितरण गरिरहेको डा. श्रेष्ठले जानकारी दिनुभयो । जेठ अन्तिम सातादेखि वितरण सुरु गरेको आयुर्वेद औषधी वितरणको कार्य दोस्रो चरणमा समेत वितरण गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

हेटौंडा–१२, पदमपोखरीस्थित क्वारेन्टाइनमा रहेकाहरु योग अभ्यास गर्दै ।

शरीरमा प्रतिरक्षा शक्ति कमजोर भए सबैखाले रोग जस्तै कोरोना भाइरसको संक्रमणको जोखिम रहने खतरालाई न्यूनीकरण गर्न प्रतिरक्षा शक्ति बढाउने औषधी वितरण गरिएको डा. श्रेष्ठले स्पष्ट पार्नुभएको छ । यस्तै योग अभ्यासले पनि शारीरिक तथा मानसिक स्वास्थ्यमा लाभ हुने भएकाले योग अभ्यास शिक्षाका साथै नियमित योग अभ्यास गर्न आइसोलेसन तथा क्वारेन्टाइनमा रहेकाहरुलाई प्रेरित गर्ने कार्य गरिएको डा. श्रेष्ठको भनाइ छ । आइसोलेसन तथा क्वारेन्टाइनमा वितरण गरिएको औषधी सबै नेपालमै उत्पादित हुन् ।