हेटौँडाः साहित्य संगम मकवानपुरले ७ जना स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । संघमा स्थापित विभिन्न सम्मानबाट विभिन्न विधामा ७ जना स्रष्टालाई सम्मान गर्ने संघका अध्यक्ष डीबी बर्तौलाले बताउनुभयो ।
मकवानपुर साहित्यश्री सम्मान २०८० बाट मकवानपुरका साहित्यकार इन्द्रजित शर्मा चौलागाईलाई १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित सम्मान गरिने भएको छ । चौलागाई संगमका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ । उक्त पुरस्कार तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य संगम मकवानपुरले स्थापना गरेको थियो ।
भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८० बाट धनकुटाकी कवि कल्पना काफ्लेलाई सम्मान गरिने भएको छ । उक्त पुरस्कारको राशि १५ हजार ५ सय ५ रुपैयाँ रहेको छ । काफ्लेले छन्दमा कविता लेख्दै आइरहनुभएको छ । उक्त पुरस्कारको स्थापना साहित्यकार विशाल अधिकारीले स्थापना गर्नुभएको हो ।
पहिलो पटक प्रदान गरिने विनोद–सुनिता सुवेदी साहित्य सम्मानबाट ललितपुरका कवि तथा निबन्धकार श्रीराम पाण्डेलाई सम्मान गरिने भएको छ । पाण्डेले मकवानपुरलाई कर्मथलो बनाएर कविता र निबन्ध क्षेत्रमा कलम चलाइरहनुभएको छ । उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । पुरस्कार हेटौँडा–२ स्थित बालजागृति बोर्डिङ स्कूलका प्रिन्सिपल विनोद सुवेदीको दम्पत्तीले स्थापना गर्नुभएको हो ।
यस्तै, शुभद्रादेवी–मदन मुडवरी स्मृति सम्मानबाट मकवानपुरका कवि तथा गजलकार विश्वनाथ सञ्जेललाई सम्मान गरिने भएको छ । १० हजार रुपैयाँ राशीसहित उक्त सम्मान हाल अमेरिकामा रहनुभएका साहित्यकार दीपक मुडवरीले स्थापना गर्नुभएको हो । मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मानबाट मकवानपुरकी कवि भावना सापकोटा सम्मानित हुनुहुने भएको छ । उक्त पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । सापकोटा आँचल साहित्य कलापुञ्ज मकवानपुरकी अध्यक्षसमेत हुनुहुनछ । उक्त पुरस्कार साहित्यसेवी देवप्रसाद श्रेष्ठले गर्नुभएको हो ।
१० हजार राशिसहितको मुक्ति–तारा सम्मानबाट मकवानपुरका हाँस्यव्यङ्ग्यकार सानुभाइ विश्वकर्मा सम्मानित हुनुहुने भएको छ । विश्वकर्माले हाँस्यव्यङ्ग्य तथा कविता लेख्दै आइरहनुभएको छ । उक्त पुरस्कारको स्थापना साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले गर्नुभएको हो ।
यस्तै, रामहरि–देव सम्मानबाट मकवानपुरका गजलकार किशन पौडेल सम्मानित हुनुहुने भएको छ । पौडेलले निबन्ध र लघुकथा क्षेत्रमा पनि कलम चलाउँदै आइरहनुभएको छ । १० हजार रुपैयाँ राशीसहितको उक्त पुरस्कार साहित्यकारहरु ऋषि केबी र पूण्यशिला श्रेष्ठले स्थापना गर्नुभएको हो ।
सात जना स्रष्टाहरुलाई चैत १० गते एक समारोहका बीच सम्मान तथा पुरस्कृत गरिने अध्यक्ष बर्तौलाले बताउनुभयो । मकवानपुरको साहित्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मानका लागि छनौट समितिले सिफारिस गरेको उहाँले बताउनुभयो ।
सम्मानका लागि कृति दर्ता गर्न आह्वान
हेटौंडाः साहित्य संगम मकवानपुरले स्थापना गरेको कृति सम्मान २०७९ का लागि कृति दर्ता गर्न आह्वान गरेको छ । एक सूचना जारी गर्नुहुँदै संगमका अध्यक्ष डीबी बर्तौलाले यसबारे जानकारी गराउनुभएको हो ।
साहित्य संगम मकवानपुरका संस्थापकहरुमध्येका एक केशव श्रेष्ठद्वारा स्थापित साहित्य संगम कृति सम्मान २०७९ संस्थाको कार्यविधिअनुरुप वितरण गरिने जनाइएको छ । २०७९ बैशाखदेखि चैत मसान्तसम्म प्रकाशन भएको निबन्ध विधाका मौलिक सङ्ग्रह कृति छनौट समितिलाई उपलब्ध गराउन सूचनामा भनिएको छ ।
राष्ट्रिय पुरस्कारका लागि छनौट नभएका कृति आगामी चैत २० गतेभित्र बुझाउनुपर्ने जनाइएको छ । पुरस्कार राशि २५ हजार एक रुपैयाँ रहेको छ । सर्वोकृष्ट कृतिलाई बैशाख दोस्रो सातामा पुरस्कृत गरिने अध्यक्ष बर्तौलाले बताउनुभएको छ ।