गुगल तस्विर ।

हेटौँडाः बागमती प्रदेशको दोलखा, धादिङ, चितवन र सिन्धुपाल्चोक जिल्लामा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–७, उखुबारीमा ट्वाइलेटमा लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया सुजता उप्रेती (कार्की) रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा आफ्नै घरको ट्वाइलेट गएकोमा अचानक कराएको आवाज सुनेपछि ढोका फोडेर हेर्दा सुजता अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि चरिकोट अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भइसकेको भनी डाक्टरले घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

भिमेश्वर नगरपालिका–७ कै भुलभुलेमा एकजनाको कंकाल फेला परेको छ । सोमबार बेलुका ७ बजेको समयमा गैरेगाउँबाट उत्तर पश्चिम चरनबती सामुदायिक वनको खोल्सामा कंकाल बरामद भएको हो । परिचय नखुलेको अन्दाजी १४ वर्ष जस्तो देखिने व्यक्तिको कंकाल बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–६, सिमपानीमा भिरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीय चन्द्र बहादुर विक रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार विक आफ्नै घरदेखि पर रहेको पाखो भिरको गोरेटोबाट ५० मिटर तल कच्ची सडकमा लडी घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–४, बडडाँडामा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३० वर्षीय रामशरण भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । भुजेल सोमबार दिउँसो ४ बजेर २० मिनेटको समयमा आफ्नै घरको आफुसुत्ने कोठाको भुईमा मृत अवस्थामा फेला परेका थिए ।

यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बेलचोकमा एकजना पुरुष मृत फेला परेका छन् । मृत अवस्थामा भेटिएका व्यक्ति नवलपरासी जिल्ला हुप्सेकोट गाउँपालिका–२, गुहेरी घर भई बेलचोकमा डेरा गरी बस्ने २५ वर्षीय चुन बहादुर मसरांगी मगर रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार राती ८ बजेर ३० मिनेटको समयमा मगर आफैं सुत्ने कोठामा घोप्टो परी मृत फेला परेका थिए ।