हेटौँडाः विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको नुवाकोट, धादिङ र चितवनमा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको हो ।
नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ मा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका–५ बस्ने ९ वर्षीय सर्वेन्द्र खाती रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबारदेखि मामाघरमा गई बसेका खाती आइतबार बिहान ९ बजेको समयमा कुटुलीकोसा टिपेर आउँछु भनी खेततिर गएकोमा धेरैबेरसम्म नआएपछि खोजतलास गर्दै जाँदा बेहोस अवस्थामा फेला परेका थिए । खातीलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लगिएकोमा आइतबार दिउँसो १ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
धादिङ जिल्लाको गल्छी गाउँपालिका–६, सुत्केरीढुङ्गामा एकजना युवक मृत फेला परेका छन् । आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा भिरमा सडीगलेको अवस्थामा पुरुष व्यक्तिको शव फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो । मृतक साथबाट कपिलवस्तु जिल्लाको वीरपुर–६ का २० वर्षीय आयुस बस्नेत नामको सवारीचालक अनुमतिपत्र फेला परेको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–५, टाइगरचोकमा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५, तोरीखेत घर भएका ४८ वर्षीय हरिचन्द्र अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार अधिकारी एक चिया पसल अगाडिको बेन्चमा अचेत अवस्थामा फेला परेका थिए । अधिकारीलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अधिकारी डिभिजन वन कार्यालय चितवनमा कार्यरत वनरक्षक भएको बताइएको छ ।