हेटौँडा भेट्रान्स फुटबलको उपाधि बानेश्वरलाई हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा भेट्रान्स क्लबको आयोजनामा भएको नवौँ संस्करणको ८ ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि बानेश्वर भेन्ट्रान्स फुटबल क्लबले जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा काठमाडौंको किङ कम भेट्रान्स क्लबलाई १–० गोलअन्तरले हराउँदै बानेश्वर भेट्रान्स क्लबले उपाधि जितेको हो ।

हरिहर थापाले प्रतियोगिताको अन्तिम समयमा गरेको निर्णायक गोलमा बानेश्वर भेट्रान्सले उपाधि जितेको हो । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता र उपविजेता टिमलाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले पुरस्कार वितरण गर्नुभएको हो ।

म्यान अफ द म्याच निर्णायक गोलकर्ता हरिहर थापा घोषित भएका छन् । यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै किङ कम भेट्रान्स क्लबका जगमान लामाले नगद १० हजार रुपैयाँ प्राप्त गर्न सफल भएका थिए । उत्कृष्ट गोलरक्षक बानेश्वर भेन्ट्रान्सका प्रदीप लामा, उत्कृष्ट डिफेन्डर महेन्द्र विश्वास खवास, उत्कृष्ट मिडफिल्डर विपिन शाही, उत्कृष्ट फरवार्ड हरिहर थापा र उत्कृष्ट प्रशिक्षक आदर्श मल्ल घोषित भएका छन् । विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा १८ वटा क्लबहरुको सहभागिता रहेको थियो ।

हेटौँडा भेट्रान्स क्लबका अध्यक्ष नवराज बज्राचार्यको सभाध्यक्षमा प्रतियोगिताको समापन भएको हो । प्रतियोगिताको समापन कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, पूर्वकार्यालय प्रमुख राजन दहाल खुशराज र वरिष्ठ पत्रकार प्रताप विष्टलगायतको आतिथ्य थियो ।

शुक्रबार सम्पन्न भएको सेमिफाइनल खेलमा पोखरा एबीसी भेट्रान्सलाई हराउँदै किङ कम भेट्रान्स फाइनलमा प्रवेश गरेको थियो भने शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा पोखराको बगरभाइ खलक भेट्रान्सलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले हराउँदै बानेश्वर फाइनलमा प्रवेश गरेको थियो ।