हेटौंडाः बुढ्यौली साहित्य समाज मकवानपुरको अध्यक्षमा आरसी रिजाल चयन हुनुभएको छ । शुक्रबार हेटौंडाको रोयल पार्टी प्यालेसमा समाजको दोस्रो अधिवेशनबाट रिजाल अध्यक्ष चयन हुनुभएको हो ।
बुढ्यौली साहित्य समाज मकवानपुरको तेश्रो वार्षिकोत्सव र १४४ औं महिला दिवसको अवसरमा कार्यक्रम आयोजना भएको हो । समाजको उपाध्यक्ष राजकुमार लामिछाने, कोषाध्यक्ष अनिता न्यैपाने, सचिव सुवास खनाल र उपसचिव जनार्दन खनाल चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा सुदर्शन अधिकारी र मोहन अधिकारी चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।
कार्यक्रममा तोयानाथ स्मृति सम्मान–२०८० बाट ज्येष्ठ साहित्यकार माधव भण्डारी (रश्मि) लाई सम्मानित गरिएको छ भने तुल्सी थापा स्मृति सम्मान–२०८० बाट प्रा.डा. मुकेशकुमार चालिसे सम्मानित हुनुभएको छ । बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको सभाध्यक्षता तथा बुढ्यौली साहित्य समाजका परिकल्पनाकार वरिष्ठ हास्यब्यङ्ग्यकार चट्याङ मास्टर (कृष्णमुरारी गौतम) को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा स्वस्तिका दाहाल, सुदर्शन अधिकारी र पुरुषोत्तम आचार्यले कविता वाचन गर्नुभएको थियो ।