हेटौंडाः भैरव अर्याल सम्मान २०८० बाट हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछाने सम्मानित हुनु भएको छ । भैरव अर्यालको अर्धकदको प्रतिमा समेत रहेको पुष्पलाल स्मृति पुस्तकालय परिसरमा शुक्रबार साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरद्वारा संयुक्त आयोजनमा सम्मान कार्यक्रम भएको हो । कार्यक्रमका अतिथि र सहभागीले भैरव अर्यालको प्रतिमामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका थिए ।
भैरव अर्यालका छोरा दीपक अर्यालले स्थापना गर्नुभएको पुरस्कार साहित्य संगम र सिस्नुपानी मकवानपुरले संयुक्तरुपमा हरेक वर्ष प्रदान गर्दै आएको छ । ‘मैले जिउन जानिन’ व्यङ्ग्य कृतिका कृतिकार लामिछाने २१ हजार १ सय ११ नगद र सम्मानपत्रसहित सम्मानित हुनु भएको हो । यसअघि सञ्जय साह मित्र, हरिकला उप्रेती, राजकुमार लामिछाने, धुर्मुस सुन्तली फाउण्डेशन, मनोज गजुरेल, चट्याङ मास्टरलगायत उक्त सम्मानबाट सम्मानित हुनुभएको छ ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा नेपालको पहिलो बाँदर विशेषज्ञ बुढ्यौली साहित्य अभियानकर्मी डा. मुकेशकुमार चालिसेको प्रमुख आतिथ्य रहेको थियो । सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल, बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाल, तुलसी घिमिरे, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, उपाध्यक्ष सानु खनाल, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान अध्यक्ष ईन्द्रप्रसाद नेपालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निमेष निखिलले भैरव अर्यालको जीवनीबारे जति बोले पनि पूरा गर्न नसकिने बताउनुभयो । उहाँले अर्याल लेखनमार्फत् नेपाली हास्यव्यङ्ग्यमा चिरकालसम्म रहिरहने व्यक्तित्वका रूपमा रहेका र उहाँको बारेमा विस्तृतमा जान्नका लागि प्रोल्लास सिन्धुलीयकृत भग्नभैरव पढ्नका लागि अनुरोध गर्नुभयो । सिस्नुपानी नेपाल तथा एजिङ नेपालका संस्थापक कृष्णमुरारी गौतमले हेटौँडा हास्यव्यङ्ग्य सिर्जनाको राजधानी भएको भन्दै सिस्नुपानी नेपाल मकवानपुर र साहित्य संगम मकवानपुरसहित विविध साहित्यिक संस्थाहरुमार्फत् प्रदेश राजधानीलाई चिनाउन सफल रहेको बताउनुभयो । दीपक अर्यालले सिस्नुपानी विस्तारदेखि भैरव अर्यालको स्मृतिमा हेटौँडामा प्रतिमा स्थापना, पुरस्कार स्थापना र हास्यव्यङ्ग्य सिर्जनामा आरसी रिजालको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।