हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले तयार पारेको मकवानपुरे ‘१०१’ सहकारी अभियन्ता पुस्तक विमोचन भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले पुस्तकको विमोचन गर्नुभएको हो ।

पुस्तक विमोचन गर्नुहुँदै नगर प्रमुख लामाले विगतका इतिहासलाई जोगाउने कामको थालनी गरेको भन्दै सहकारीको प्रशंसा गर्नुभयो । उहाँले महिला र समाजलाई रुपान्तरण गर्न सहकारीको भूमिका रहने बताउनुभयो । सर्वहारा वर्गदेखि सबैको उत्थान र आर्थिक रुपान्तरण गर्न सहकारीले कार्य गर्दै आइरहेको उहाँले बताउनुभयो ।

उहाँले पछिल्लो समय केही सहकारीहरु नीति र विधानअनुसार नचल्दा संस्था नै बन्द गर्नुपर्ने स्थिति आइरहेको भन्दै सहकारीहरु विधि र विधानअनुसार चल्नुपर्ने बताउनुभयो । कर्मचारी र व्यवस्थापन समितिबीचको सम्बन्ध राम्रो बनाएर सहकारीलाई अगाडि बढाएमा सफल हुने उहाँको भनाइ छ ।

संघकी अध्यक्ष कल्पना श्रेष्ठले पुस्तकबारे जानकारी गराउनुभयो । सबैको उस्तै सक्रिय, उत्तिकै इमानदार, सबैमा केही गरौं भन्ने जोडतोड भावना र कोहीभन्दा कोही कम नभएको अवस्था भन्ने मान्यताका साथ पुस्तकको नाम ‘१०१’ सहकारी अभियन्ता राखिएको उहाँले बताउनुभयो । बचत संघ मकवानपुरको प्रारम्भ महिला सहकारीको महिला प्रतिनिधिबाट भएको बताउनुहुँदै उहाँले यो पहिलो संस्करणको पुस्तकमा महिलाहरु प्राथमिकतामा परेको बताउनुभयो । पुस्तकमा लेखको क्रमबद्धताको आधारमा पहिला आउनेलाई पहिला नै राखिएको पनि उहाँले बताउनुभयो । रघुनाथ लामिछानेले सम्पादन गर्नुभएको पुस्तकमा ५० सहकारी महिला अभियन्ताहरुको कथा समेटिएको छ । पुस्तक १ हजार थान छापिएको छ । पुस्तक छपाइमा ५ लाख रुपैयाँ खर्च लागेको जनाइएको छ ।

कार्यक्रममा हेटौंडा–११ की वडाध्यक्ष जुना दाहाल, बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, हेटौंडा उपमहानगरपालिकाको सहकारी विकास शाखाका प्रमुख हिमप्रसाद पौडेललगायतको आतिथ्य रहेको थियो । पुस्तक विमोचनको अवसरमा अगुवा अभियन्ताले आफ्नो अनुभव समेत प्रस्तुत गरेका थिए । सहकारीको माध्यमबाट महिला सशक्तीकरण, आर्थिक एवम् सामाजिक विकासमा अतुलनीय योगदान रहेको बताइएको थियो ।