हेटौँडाः विभिन्न घटनामा ५ जनाको मृत्यु भएको छ । चितवन, धादिङ र काभ्रेपलाञ्चोकमा ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको रत्ननगर नगरपालिका–५, झुवानीमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट जिल्ला घर भई हाल झुवानीमा डेरा गरी बस्ने ३५ वर्षीया आशा तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ६ बजेको समयमा तामाङ आफ्नै कोठामा वेहोस अवस्थामा फेला परेकी थिइन् । तामाङलाई उपचारका लागि बकुलहर अस्पताल लगिएकोमा डाक्टरले स्वास्थ्यजाँच गर्दा शनिबार बिहान ७ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्लाकै कालिका नगरपालिका–१, सुन्दरबस्तीमा एक जना महिला मृत फेला परेकी छन् । मृत्यु कालिका नगरपालिका–२, कमलपुर बस्ने ५० वर्षीया सानुमाया थापा रहेको प्रहरी जनाएको छ । शनिबार थापा दाउरा बेच्न भनी हिँडेकोमा सुन्दरबस्तीमा रहेको एक स्थानीयको गोठमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१, सिमटारमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारतको बिहार प्रदेशको मोतिहारी जिल्ला पूर्वी चम्पारण बस्ने ३५ वर्षीय कुन्दन कुमार साह रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार साहलाई एक्कासी वान्ता हुने, ज्वरो आउने बिरामी भई बोल्न नसक्ने अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएकोमा आइतबार बिहान मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यता काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–५, चाईनाटाउन पछाडि एक शिशु मृत फेला परेको छ । शनिबार बिहान ८ बजेको समयमा अन्दाजी ३ दिने शिशु मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । शिशु कस्ले फालेको भन्ने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै, काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१, चिरिन्टारमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय कान्छा नेवार रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार नेवारको खहरेटोलबाट चिरिन्टार जाने कच्ची सडकमा विवाहमा नाच्ने क्रममा लड्दा घटनास्थलमै नै मृत्यु भएको प्रहरीले जनाएको छ ।