हेटौँडाः फागुन २२ गते मंगलबार हेटौँडा उपमहानगरका ३ वटा विद्यालय एकसाथ बालमैत्री विद्यालय घोषणा हुँदैछ । हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुल, हेटौँडा–८, कमानेस्थित चन्द्रोदय मावि र हेटौँडा–१६, हटियास्थित जनप्रिय मावि बालमैत्री विद्यालय घोषणा हुन लागेको हो ।
बालजागृति निजी विद्यालय हो भने चन्द्रोदय र जनप्रिय सरकारी विद्यालय हो । हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको तयारी भइरहेका बेला विद्यालयलाई पनि बालमैत्री घोषणा गर्न सुरु गरिएको हो । बालमैत्री पालिका घोषणाको विषयमा विद्यालयहरुले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलले गत शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो भने चन्द्रोदय र जनप्रियले आइतबार पत्रकार सम्मेलन गरेर बालमैत्री घोषणाको तयारी पूरा भएको जनाएको छ ।
बालमैत्री विद्यालय घोषणाका लागि आवश्यक तयारी गर्ने क्रममा विद्यालयको भौतिक संरचना बालबालिकामैत्री हुनुका साथै विद्यार्थी र शिक्षकको बोली, व्यवहारमा समेत सकारात्मक परिवर्तन आएको चन्द्रोदय माविका प्रधानाध्यापक जीधराज ढकालले बताउनुभएको छ । वडा अध्यक्ष रामकृष्ण थापाको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रधानाध्यापक ढकालले विद्यार्थीलाई व्यवस्थापन समितिमा समेत सहभागी गराई बालबालिकाको भावनाअनुसार आवश्यक निर्णय गर्ने गरिएको जानकारी दिनुभयो ।
यस्तै जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागार्ईले बालमैत्री विद्यालय घोषणाका लागि निरन्तर प्रयास गरिरहेको र एकसाथ नगरका तीनवटा विद्यालय बालमैत्री घोषणा हुँदै गर्दा जनप्रियले शिक्षक र अभिभावकलाई समेत कक्षागतरुपमा अभिमुखीकरण गराएको जानकारी दिनुभएको छ । हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिको संयोजक समेत रहनुभएका वडा अध्यक्ष रामकृष्ण कोइरालाको उपस्थितिमा भएको पत्रकार सम्मेलननमा प्रधानाध्यापक चौलागाईले बालमैत्री अभियान सुरु भएपछि विद्यार्थीको अग्रसरतामा विद्यार्थीको स्वअनुशासन र नेतृत्व क्षमतामा सकारात्मक विकास भएको दावी गर्नुभएको छ ।