हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले पालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार दिने भएको छ । गाउँपालिकाले बसाइँ सरेर आउने परिवारलाई घर उपहार कार्यक्रममा सहभागी हुन सूचना जारी गरेको हो ।
गाउँपालिकाले बुधबार सूचना जारी गर्दै घर उपहार कार्यक्रममा सहभागी हुन अनुरोध गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । पालिकाको चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रमअनुसार पालिकामा बसाइँ सरी आउनेलाई घर उपहार कार्यक्रममा सहभागी हुन १५ दिनको सूचना निकालिएको प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताउनुभयो । यसका लागि पालिकाले विभिन्न मापदण्ड बनाएको उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षभित्र पालिकामा बसाइँ सरी आउनेहरुले कार्यक्रममा सहभागी हुनसक्ने उहाँले बताउनुभयो । आवेदन आएपछि छनोट समितिले कार्यक्रमका लागि योग्य छ कि छैन भनेर छानविन गर्ने उहाँले बताउनुभयो । कार्यक्रमका लागि योग्य हुनेहरुलाई पालिकाले प्रतिघर ५ लाख रुपैयाँ पर्ने दुई कोठे घर निर्माण गरिदिने उहाँले बताउनुभयो ।
पालिकाले यो कार्यक्रमका लागि आवेदन संख्याको आधारमा मापदण्ड बनाएर बजेट विनियोजन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताउनुभयो । गाउँपालिकाले बनाइदिएको भवन १० वर्षसम्म बेचविखन गर्न नपाइने र गरेको पाइएमा पालिकाले सामुदायिक भवनको रुपमा प्रयोग गर्ने पनि उहाँले बताउनुभयो ।