मनहरी गाउँपालिकास्थित पशुपतिनाथ माविको भवन निर्माण कार्य हुँदै ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले गाउँपालिकाका विद्यालयहरुलाई विभिन्न शिर्षकमा अनुदान वितरण गर्ने भएको छ । गाउँपालिकाले २१ लाख ५२ हजार रकम बराबरको अनुदान वितरण गर्ने भएको हो । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको उपस्थितिमा बिहिबार बसेको शिक्षा समितिको बैठकले सो अनुदान प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

गाउँपालिकाले पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला, विज्ञान प्रयोगशाला र अंग्रेजी माध्यम पठनपाठन प्रोत्साहन अनुदान वितरण गर्ने निर्णय गरेको छ । गाउँपालिकाले वडा नम्बर ६ सुनाचुरीस्थित राष्ट्रिय माविलाई विज्ञान प्रयोगशाला बनाउन ६ लाख ५० हजार, मनहरी—७ बिजौनास्थित राष्ट्रिय आधारभूत विद्यालयमा पुस्तकालयका लागि ६ लाख ५० हजार, मनहरी—२ स्थित सीता माविलाई सूचना प्रविधि प्रयोगशालाका लागि ६ लाख ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

त्यस्तै अंग्रेजी माध्यम पठनपाठन प्रोत्साहनका लागि गाउँपालिकाले ५०/५० हजार रुपैयाँ ४ वटा विद्यालयलाई वितरण गर्ने भएको छ । जसमा मनहरी—७ स्थित रोटरी मावि, मनहरी—४ स्थित पशुपतीनाथ मावि, मनहरी—९ स्थित ऋषेश्वर आधारभूत विद्यालय र मनहरी—१ स्थित आधारभूत विद्यालय चकरीलाई वितरण गरिने भएको छ । पशुपतिनाथ माविलाई शिक्षण सिकाई समय सुधार अनुदान पनि प्रदान गरिने भएको छ । गाउँपालिकामा हाल प्रत्येक विद्यालयले पाठ्यपुस्तक वितरण गर्दै विद्यार्थीहरुको रेडियो, टेलिभिजन र इन्टरनेट मध्ये कुन माध्यममा पहुँच छ या कुनैमा पनि छैन भनेर छलफल गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सापकोटाले बताउनुभयो ।