हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले स्वास्थ्य उपचारको क्रममा रगत चढाउनुपर्दा निशूल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षदेखि गाउँपालिकाले गाउँवासीलाई उपचारका क्रममा आवश्यक रगत निशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रसँग सम्झौता गरेर गाउँवासी आउँदा निशूल्क रगत उपलब्ध गराउने र रक्तसञ्चार केन्द्रको शूल्क गाउँपालिकाले वार्षिक रुपमा एकमुष्ठ भुक्तानी गर्ने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो ।
गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा सहज होस् भन्ने उद्देश्यले निशूल्क रगत उपलब्ध गराउन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष खनालले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा हालसम्म १५ जनालाई निशुल्क रगत प्रदान गरेको छ । निशुल्क रगत उपलब्ध गराउने सूचना गाउँपालिकाले आर्थिक वर्षको सुरुमै प्रत्येक वडामा गरेको अध्यक्ष खनालले बताउनुभयो ।
गाउँपालिकाका १५ जनाले ४० युनिट रगत निशुल्क प्राप्त गरेका छन् । यसरी निशुल्क रगत उपलब्ध गराउने बकैया गाउँपालिका सम्भवतः पहिलो पालिका हुन सक्ने रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले बताउनुभयो । आगामी आर्थिक वर्षबाट मकवानपुरका १० वटै स्थानीय तहहरुले निशुल्क रगत वितरण गर्ने गरी आफुहरुले पहल गरिरहेको पनि केन्द्रका प्रमुख दाहालले बताउनुभएको छ ।