किसानलाई मौरीको घार वितरण गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लमिछाने ।

हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले मौरीपालक किसानलाई मौरीको घार वितरण गरेको छ । आइतबार एक कार्यक्रमका बिच मौरीपालक किसानहरुलाई प्रोत्साहनस्वरुप घार वितरण गरेको हो ।

गाउँपालिकाका १०, ११ र १२ नम्बर वडाका स्थानीयलाई १ सय ३३ वटा मौरीको घार वितरण गरिएको छ । गाउँपालिकाले कृषकलाई मौरी पालनसम्बन्धी तालिम दिएर मौरीको घार वितरण गरेको हो । पालिकाले सेरिना जातको मौरी पालनका लागि ६ लाख ६५ हजार रुपैयाँ बराबरको उपयुक्त मौरी घार वितरण गरेको बताइएको छ । मौरी घार वितरण कार्यक्रम बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लमिछानेको अध्यक्षता तथा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राम लामिछाने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, ११ नम्बर वडा अध्यक्ष गोपाल न्यासुर, १२ नम्बर वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, १० नम्बर वडा अध्यक्ष कमलाकुमारी वाईबा, गाउँपालिकाका कृषि अधिकृत सचित रिजाललगायत वडाका सचिव, किसानको उपस्थिति रहेको थियो । मौरी पालनको सम्भावना भएकाले पालिकाले घार वितरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो । मौरी पालनको लागि सामान्य लगानीबाट धेरै उपलब्धी हुने भएकाले पालिकाले किसानलाई सहयोग गरेको उहाँको भनाइ छ । गाउँपालिकाको ५० प्रतिशत लगानी र कृषकको ५० प्रतिशत लगानीमा मौरीको घार वितरण गरिएको हो ।

घार वितरण कार्यक्रममा मन्त्री चित्रकारले बकैया गाउँपालिका अरु पालिकाभन्दा छुट्टै हिसाबले अघि बढेको बताउँदै सरकारले देशमा रोजगारी विकास नगरे मुलुक विकास नहुने बताउनुभएको छ । रोजगार देश विकासको जग भएको उहाँको दाबी छ । गाउँमा सडक, बिजुली, विद्यालय भवान निर्माणमा मात्र ध्यान गएको बताउँदै भौतिक विकाससँगै घरमा आर्थिक वृद्धि कसरी गर्न सकिन्छ भनेर अघि बढ्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । औचित्य निर्माण हुनेगरी विकासको कार्य गर्न आवश्यक रहेको उहाँको भनाइ छ । देशमा विभिन्न भौतिक संरचना विकासको लागि अर्थव्यवस्था आवश्यक पर्ने भएकाले सम्पूर्ण अर्थिक स्रोत राजश्व भएको बताउँदै उद्योग विकासमा जोड दिन आवश्यक रहेको उहाँको भनाइ छ । आउने आर्थिक वर्षमा बकैया गाउँपालिकालाई प्रदेश सरकारको तर्फबाट कृषिग्राम कार्यान्वयनमा ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । नेपाल कृषिप्रधान देश भनेता पनि कृषिमा लगानी कम भएको भन्दै कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । कृषि उत्पादनलाई व्यावसायीकरण गर्न कृषि नीति आवश्यक रहेको उहाँको भनाइ छ । प्रदेश सरकारले भूमि बैंक नीति निर्माण गर्ने चरणमा रहेकोसमेत मन्त्री चित्रकारले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य राम लामिछानेले प्रदेश सरकारले कृषि उद्यमशीलतालाई जोड दिएको बताउँदै स्थानीय तहलाई बजेट उपलब्ध गराउने र स्थानीय तहले पकेट क्षेत्र छुट्याई उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार मिलेर कृषि उपज वस्तुलाई वैज्ञानिक तवरबाट बजारीकरण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले कृषकलाई प्रोत्साहनस्वरुप मौरीको घार वितरण गरेको जानकारी गराउनुहुँदै उत्पादित मह बिक्री वितरणको लागि सहकार्य गरिदिने बताउनुभयो । उत्पादनमा जोड दिँदै उहाँले भन्नुभयो, ‘तपाईहरु उत्पादन गर्नुहोस्, म तपाईंहरुले उत्पादन गरेको सबै मह बजारीकरणको लागि सहकार्य गर्छु । मह उत्पादन निरन्तर गर्नुहोस् जति भए पनि बिक्री गर्न सकिन्छ ।’ किसानलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न पालिकाले विभिन्न कार्ययोजना अघि सारेको बताउँदै केही समयमा नै फलफूलका बिरुवा वितरणको चरणमा रहेकोसमेत अध्यक्ष लामिछानेले जानकारी गराउनुभयो । नेपालमा नै रोजगारी सिर्जना गर्नु पर्छ भन्ने उद्देश्यका साथ पालिकाले योजना लिएर अघि बढेको समेत उहाँले दाबी गर्नुभयो । कृषक उत्पादनमा उत्साहित भएर लागे पालिका साथमा रहेको उहाँको भनाइ छ ।