कृषकलाई उन्नत जातका गाई वितरण गरिँदै ।

हेटौंडाः दूध डेरीको हब बनाउने उद्देश्यले राक्सिराङ गाउँपालिकाले किसानलाई उन्नत जातको गाई वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच राक्सिराङ गाउँपालिका–३ का गाईपालक किसानहरुलाई उन्नत जातका १० वटा जर्सी गाई वितरण गरेको हो ।

उन्नत जातको गाईपालन अनुदान कार्यक्रमअन्तर्गत् राक्सिराङ–३ का १० जना किसानलाई गाई वितरण गरिएको छ । ३ नम्बर वडा गाईवस्तु पालन गर्न उपयुक्त स्थान रहेको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले दूधलगायत दूधबाट बनेका अन्य सामग्रीहरु बजारीकरण गर्न सजिलो हुने बताउनुभयो । उन्नत जातका गाईबाट नश्ल सुधार गरी सबैलाई जीवन निर्बाह गराउने र बजार व्यवस्थापन दिगो बनाउने उहाँको भनाइ छ ।

किसानको मागलाई ध्यानमा राखी ठाउँअनुसारको पकेट क्षेत्र बनाउँदै जाने योजना रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । मौरी, चिउरी, गाई, बाख्रा, तरकारीलगायतको पकेट क्षेत्र बनाउँदै लैजाने उहाँले बताउनुभयो । वितरण गरिएको गाईको पूर्ण बिमा रहेको छ । कुनै आवश्यक समस्या परेमा पशुपछी विकास शाखालाई खबर गर्न भनिएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, वडा नम्बर ३ का अध्यक्ष उत्तम वाईबा, सचिव भावना कँडेललगायतको आतिथ्य रहेको थियो ।