हेटौंडाः दादुरा–रुबेलाविरुद्धको खोप आज आइतबारबाट लगाउन सुरु भएको छ । खोप लगाउने कार्य फागुन १९ गते शनिबारसम्म सञ्चालन हुनेछ । मकवानपुर जिल्लामा ५ सय २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ ।
दादुरा–रुबेला खोप अभियानमा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ । खोपका कारण भइरहेको मृत्युदरलाई कम गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अभियान सञ्चालनमा गर्न लागेको हो । खोप अभियानमा पहिले लगाउन छुटेका खोपमध्ये खोपको विवरण खोप कार्ड भएमा डीपीटी, हेपाटाइटीस बी, पीसीभी र आईपीभी खोप पनि लगाउन पाइनेछ ।
मकवानपुरमा खोप लागाउनका लागि हेटौंडा उपमहानगरपालिकामा एक सय २८ वटा खोप केन्द्र तोकिएको छ । यस्तै, थाहा नगरपालिकामा ४३ वटा, इन्द्रसरोवर गाउँपालिकामा १६ वटा, भीमफेदी गाउँपालिकामा ३८ वटा, कैलाश गाउँपालिकामा ५१ वटा खोप केन्द्र तोकिएको छ । मनहरी गाउँपालिकामा ४८ वटा, रक्सिराङ गाउँपालिकामा ५३ वटा, मकवानपुरगढी गाउँपालिकामा ३९ वटा, बकैया गाउँपालिकामा ५४ वटा र बागमती गाउँपालिकामा ५० वटा खोप केन्द्र तोकिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दादुरा–रुबेला खोप अभियानका लागि तीन सय ४० जना स्वास्थ्यकर्मीलाई तामिल दिएको छ ।
बागमती प्रदेशमा ९ प्रतिशत बालबालिकाहरु पूर्णखोप लगाउन छुटेका छन् । एनडीएचएस २०२२ अनुसार बागमती प्रदेशमा ५ महिनादेखि ५ वर्ष मुनिका ९ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छैनन् । बागमती प्रदेशले ८ लाख ४९ हजार ३ सय २५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।
दादुरा–रुबेला खोप अभियानको मुख्य उद्देश्य सन् २०२६ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने रहेको छ । प्रदेशमा ९५ प्रतिशत हुनुपर्नेमा ८३ प्रतिशत बालबालिकाले मात्र पूर्णखोप लगाएको तथ्याङ्क रहेको छ । एनडीएचएस २०२२ अनुसार बागमती प्रदेशमा १६ प्रतिशत बालबालिका पूर्णखोपबाट वञ्चित भएका छन् भने ४ प्रतिशत बालबालिकाहरुले एउटा डोज पनि खोप लगाएका छैनन् ।
राष्ट्रमा पूर्णखोप लगाउने बालबालिकाको संख्या ५२ प्रतिशत रहेको छ । ९५ प्रतिशत बालबालिका कभरेज हुनुपर्नेमा बागमती प्रदेशमा कभरेज कम भएको छ भने सबै तहमा एकरुपता छैन । हालसम्म देशका धनुषा, महोत्तरी, रौतहट, पर्सा, नुवाकोटबाहेक ७२ जिल्ला र ६ सय ३३ वटा स्थानीय तहमा खोप कार्यक्रम घोषणा गरिएको छ ।