Home मुख्य समाचार आनन्द भैरव आधारभूत विद्यालयमा पठनपाठन सुचारु गर्ने प्रयास

आनन्द भैरव आधारभूत विद्यालयमा पठनपाठन सुचारु गर्ने प्रयास

हेटौंडाः हेटौंडा–११, डाङडुङेस्थित आनन्द भैरव आधारभूत विद्यालयमा पठनपाठन सुचारु गर्ने प्रयास भएको छ । लकडाउनका कारण तीन महिनादेखि विद्यालय बन्द रहेका बेला बिहिबारदेखि विद्यालयले कक्षा ७ र ८ को पठनपाठन सुचारु गर्ने प्रयास गरेको प्रधानाध्यापक कृष्ण खनालले जानकारी दिनुभएको छ ।

सरोकारवालासँग समन्वय गरेर विद्यालयमा बालबालिकाबीच भौतिक दुरी कायम गरेर पठनपाठनको प्रयास भएको प्रधानाध्यापक खनालले बताउनुभयो । पहिलो दिन आज कक्षा ७ का २० जना विद्यार्थी मध्ये १० जना मात्रै हाजिर भएका छन् भने कक्षा ८ का १७ जना विद्यार्थी मध्ये ७ जना मात्रै हाजिर भएका छन् । आज सामाजिक, नेपाली, विज्ञान, पेशा व्यवसा र स्वास्थ्य तथा जनसंख्या विषयको पठनपाठन गरिएको उहाँले बताउनुभयो ।

सबै विद्यार्थीलाई विद्यालयमा बोलाएर व्यवस्थापन गर्न सहज नहुने भएकोले माथिल्लो कक्षालाई मात्रै बोलाइएको र सबै कक्षा सञ्चालन गर्न के गर्न सकिन्छ भनेर थप योजना बनाइने पनि प्रधानाध्यापक खनालले बताउनुभयो । विद्यालयका केही शिक्षकहरु २ नम्बर प्रदेशस्थित घर जानुभएकोले शिक्षक व्यवस्थापनमा पनि समस्या हुने देखिएको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको शिक्षा शाखा, वडाका प्रतिनिधिसँग समेत छलफल गरेर पठनपाठन सुचारु गर्ने प्रयास भएको हो । पठनपाठन सुचारु गर्नुअघि विद्यालयले बालबालिकालाई मास्क पनि वितरण गरेको छ ।

Exit mobile version