मुलुकमा प्रजातन्त्र दिवस मनाउन थालेको ७ दशक नाघिसकेको छ । फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस यस वर्ष आज सोमबार मनाइँदैछ । संघीय सरकारले ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस ३ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । १०४ वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिन (२००७ साल फागुन ७)को स्मरणमा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक कार्यक्रमहरु गरेर प्रजातन्त्र दिवस मनाउँदै आएको छ । यस दिन देशभर सार्वजनिक विदासमेत दिइएको छ । २०६२/०६३ को राजनीतिक परिवर्तनअघि प्रजातन्त्र दिवसलाई धुमधामसँग मनाउने गरिए पनि त्यसपछि भने यो दिवसको महत्व कम हुँदै गएको छ । मुलुकमा लोकतन्त्र र गणतन्त्र दिवससमेत मनाउन थालेपछि प्रजातन्त्र दिवस आझेलमा परेको हो ।

यस वर्ष संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले प्रजातन्त्र दिवस मनाउने भएको छ । प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक, लेखरचना प्रकाशनलगायत जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको छ । सरकारी निकाय, प्रतिष्ठान, संघ–संस्थाका कार्यालयमा राष्ट्रिय झण्डा सजाउने र साँझ दीप प्रज्वलन गरिनेछ । सबै जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रमसमेत गर्ने निर्णय भएको छ । दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गर्नुका साथै नेपाली सेनाद्वारा बिगुल बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने कार्यक्रम छ । सेनाको हेलिकप्टरबाट दिवसको ब्यानर प्रदर्शन गर्ने, टुँडिखेलमा पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । सातै प्रदेश र सबै स्थानीय तहमा दिवस आयोजक समिति गठन गरी विविध कार्यक्रम गरिने भएको छ । प्रदेश र स्थानीय तहले सरसफाइ, प्रभातफेरि, खेलकुद, प्रवचन, साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनीजस्ता कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरिएको छ ।

नेपाली जनताले गरेको आन्दोलन र संघर्षबाट देशमा प्रजातन्त्र आएको हो । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले देश संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ । २००७ सालमा प्राप्त प्रजातन्त्र २०१७ सालमा गुमाउनु परेका कारण मुलुकमा ३० वर्षसम्म निरंकुश पञ्चायती व्यवस्था लागू भयो । पञ्चायती शासकहरुले नेपाली जनतामाथि गरेको अत्याचारको विरोधमा २०४६ सालमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा नेपाली जनताले गरेका वलिदानीपूर्ण आन्दोलनबाट प्रजातन्त्रको पुनर्वहाली भयो । पुनर्वहाली भएको प्रजातन्त्रको राम्रोसँग प्रयोग गर्न नपाउँदै २०५२ सालबाट नेकपा माओवादीले सशस्त्र विद्रोह सुरु गर्यो । देशमा श्रृंखलाबद्ध हत्या, हिंसाका घटनासहितको माओवादी विद्रोह १० वर्षसम्म चल्यो । दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहको महत्वकांक्षाका कारण नेपाली जनताले २०६१ माघ १९ गते फेरि प्रजातन्त्र गुमाएसरह भयो । २०६२/०६३ को दोस्रो जनआन्दोलनबाट देशमा राजतन्त्रको अन्त्यसँगै संघीय लोकतान्त्रिक गणतन्त्रको उदय भयो ।

प्रजातन्त्रको मूल्य, मान्यताबमोजिम देशमा शासन व्यवस्था सञ्चालन हुन सकिरहेको छैन । देशले धेरै राजनीतिक आरोह अवरोह पार गर्दै आउँदासमेत प्रजातन्त्रको महत्व बुझ्न र बुझाउन सकिएको पाइँदैन । हरेक वर्ष सामान्य औपचारिकता पूरा गरेर मनाइने प्रजातन्त्र दिवसले प्रजातन्त्रको अनुभूति हुन सकेको छैन । प्रजातान्त्रिक मूल्य, मान्यताअनुसार शासन व्यवस्था सञ्चालन नहुँदासम्म प्रजातन्त्र दिवसको महत्व आम नागरिकले महसुस गर्न सक्दैनन् । नागरिकलाई देशमा प्रजातन्त्र रहेको अनभूति गराउन सकेमा मात्र यो दिवस मनाउनुको सार्थकता हुनेछ ।