हेटौँडाः हेटौँडा–७, नागस्वतीस्थित तासिर इंग्लिस सेकेण्डरी स्कूलको २०औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठ्ठे बहादुर कार्कीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह भएको हो । कार्यक्रममा वडाअध्यक्ष दामोदर गौतमको पनि आतिथ्य रहेको थियो ।
वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा रोबोटिक, विज्ञान तथा प्रविधि, नेपाली साहित्य, अंग्रेजी साहित्य, स्थानीय प्रविधि तथा खेल स्टलहरु राखिएका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य, गायन, नाट्य, उद्घोषण कला प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा २०७९ सालको एसईईमा जिपिए ४ सहित जिल्ला प्रथम हुने विद्यार्थी डाफिन राईकालाई ५० हजार पाँच सय ५५ रुपैयाँ, जिपिए ३.९५ सहित जिल्ला द्वितीय हुने विद्यार्थीहरु प्रवल थापा र सुयोग अर्याललाई जनही १० हजार एक सय ५५ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । विद्यालयले शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान गरेको छ ।
अभिभावक दिवसको अवसरमा विद्यालय प्रिन्सीपल विनोद थपलियाले विद्यालयको उपलब्धी, अवस्था र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । प्रिन्सीपल थपलियाले विद्यार्थीका लागि सिक्दै कमाउँदै कार्यक्रम जारी राख्ने उल्लेख गर्नुहुँदै प्राथमिक तहका विद्यार्थीको प्रभावकारी सिकाईका लागि उपयुक्त योजना बनाइएको दावी गर्नुभयो ।