हेटौँडाः नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन शनिबार हेटौँडामा सुरु भएको छ । आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा शैक्षिक संस्था सञ्चालक, उद्यमी\व्यवसायी र प्राध्यापक\विद्यार्थीबीच नवप्रवर्तन र उद्यमशीलता विकासका विषयमा अन्तरक्रियात्मक कार्यशाला हुनेछ ।
हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसको आयोजना तथा सरोकारवाला विभिन्न निकायको साथ र सहयोगमा आयोजित सम्मेलनमा नेदरल्याण्ड र भारतबाट पनि प्रतिनिधि सहभागी छन् । शनिबार बिहान हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसको व्यवस्थापन समिति अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षता तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्मेलनको उद्घाटन समारोह भएको थियो ।
उद्घाटन समारोहमा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको पनि आतिथ्य रहेको थियो । सम्मेलनमा नेदरल्याण्ड, भारत र नेपालका विज्ञहरुले नवप्रवर्तन र उद्यमशीलताको अवधारणा, विश्व परिवेश, सम्भावना र अवसरका विषयमा अन्तरक्रिया गर्नेछ । सम्मेलनको अवसरमा नवप्रवर्तन र उद्यमशीलतामै आधारित भएर विभिन्न परियोजनाको प्रस्तुती पनि राखिने छ ।
शनिबार बिहानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विदेशी तथा स्वदेशी विज्ञहरुले उत्तरआधुनिक समयमा सूचना प्रविधिसँगै कृत्रिम वौद्धिकताको समय आइपुग्दा नवप्रवर्तन र उद्यमशीलतालाई गम्भीर र नयाँ ढंगबाट बुझ्न जरुरी भएको उल्लेख गरेका थिए । सम्मेलनमा विभिन्न खण्डमा बहस हुनेछ । सम्मेलनबाट नेपालमा नवप्रवर्तन र उद्यमशीलताको अवस्था र आगामी सम्भावनाका विषयमा जानकारी प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।