फाइल तस्वीर ।

फापरबारी (बागमती)ः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार तेस्रो क्वार्टरफाइनल खेल सम्पन्न भएको छ । बागमती–८ स्थित जनता माविको खेलमैदानमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले हराउँदै मच्छिन्द्र युथ क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

निर्धारित समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जावलाखेल बागमती गोल्डकपको तेस्रो संस्करणको विजेता हो भने मच्छिन्द्र दोस्रो संस्करणको उपविजेतासमेत हो । म्यान अफ द म्याच मच्छिन्द्र क्लबका प्रदिप भण्डारी घोषित भए । मच्छिन्द्रले फाइनल प्रवेशका लागि न्यू रोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेल आइतबार आयोजक बागमती खेलकुद विकास समिति र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।