हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनलाई हराउँदै साविक विजेता समेत रहेको हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय फाइलमा प्रवेश गरेको छ ।
हेटौँडा–४ स्थित हुप्रचौरमा शनिबार भएको खेलमा सिद्धार्थ शिशु सदनलाई २ सय ३ रनले पराजित गर्दै भुटनदेवीले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । टस जितेर पहिलो व्याटिङ गरेको भुटनदेवीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको थियो । भुटनदेवीबाट नरेन्द्र अधिकारीले ३१ बलमा ८६ रन र कृष्णा यादवले ५८ बलमा ८२ रन बनाए । भुटनदेवीबाटै नसिम शेखले २६ रन र सुमीत यादवले १४ रन बनाए । सिद्धार्थबाट विनोद साहले ३ विकेट लिन सफल भएका थिए ।
जवाफी व्याटिङमा उत्रिएको सिद्धार्थले ११ ओभर ३ बलमा सबै विकेट गुमाएर ३२ रन मात्र बनाउन सफल भयो । सिद्धार्थबाट कार्तिक गिरीले ६ रन मात्र जोड्न सफल भए । भुटदेवीको तर्फबाट सजिद अलि खानले ३ विकेट लिए । ऋतिक यादव र नसिम शेखले समान २–२ विकेट लिए । भुटनदेवीले समुह चरणको ४ खेलमा अपराजित रहँदै ८ अंकसहित तालिकाको शिर्ष स्थानमा रहँदै सेमीफाइनलको यात्रा तय गरेको थियो ।
म्यान अफ द म्याच नरेन्द्र अधिकारी घोषित भए । सोमबार उपाधिका लागि भुटनदेवीले हेटौँडा एकेडेमी र आधुनिकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।