हेटौँडाः पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्न थालेसँगै हेटौँडामा निजी क्षेत्रको १ करोड भन्दा बढी लगानीमा चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । हेटौंडा–९, कर्रामा एक करोड रुपैयाँभन्दा बढी लगानीमा दुर्गा माता चार्जिङ स्टेशन सञ्चालनमा आएको हो ।
बिहिबार हेटौँडा–९ का वडा अध्यक्ष सुकराम केसीले चार्जिङ स्टेशनको उद्घाटन गर्नुभएको छ । उपेन्द्र सापकोटा, बिप्लप पौडेल र सन्तलाल मिजारको संयुक्त लगानीमा चार्जिङ स्टेशन सञ्चालनमा आएको हो । चार्जिङ स्टेशन एकैपटक ३ वटा गाडी चार्ज गर्न सकिन्छ । चार्जिङ स्टेशन परिसरमा रेष्टुरेन्टसँगै गाडी धुने सुविधा पनि रहेको छ । सेवाग्राहीको चापका आधारमा चार्जिङ स्टेशनको क्षमता पनि विस्तार गर्दै लगिने सञ्चालक उपेन्द्र सापकोटा बताउनुहुन्छ ।
यसअघि हेटौँडा–१५, रातोमाटेमा नेपाल विद्युत प्राधिकरणले नै विद्युतीय सवारी साधन चार्जिङ स्टेशन स्थापना गरेको छ । प्राधिकरणले स्थापना गरेको चार्जिङ स्टेशन अपायक स्थानमा रहेको र सवारीधनीले असुविधा महसुस गरिरहेको सन्दर्भमा रेष्टुरेन्ट, शौचालय र पर्याप्त पार्किङ सुविधासहित चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको सञ्चालक सापकोटा बताउनुहुन्छ । राजमार्गसँगै रहेकोले पनि सेवाग्राहीलाई सहज हुने सापकोटाको दावी छ ।