बिहिबारको खेलमा बल अगाडि बढाउँदै एनआरटीका खेलाडी (हरियो जर्सीमा) ।

फापरबारी (बागमती)ः मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत न्यू रोड टिम (एनआरटी) सेमीफाइनलमा प्रवेश गरेको छ । बिहिबार बागमती–८, फापरबारीस्थित जनता माविको खेलमैदानमा भएको पहिलो क्वार्टरफाइनल खेलमा सिमराको नव जनजागृति युवा क्लबलाई १–० गोलअन्तरले हराउँदै एनआरटी सेमीफाइनलमा प्रवेश गरेको हो ।

एनआरटीको जीतमा मोहित गुरुङ्गले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको ३१ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् । म्यान अफ द म्याच गुरुङ्ग घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा पहिलो पटक सहभागी भएको एनआरटी पहिलो प्रयासमै सेमीफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल प्रवेश गरेको एनआरटीले अब फाइनल प्रवेशका लागि ए डिभिजन क्बल जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टरफाइनलमा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडबी प्रतिस्पर्धा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।