उपाधिका लागि एनआरटीसँग भिड्ने
हेटौँडाः सशस्त्र प्रहरीको एपीएफ फुटबल टिम हेटौँडामा जारी छैठौँ संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमीफाइन खेलमा सर्लाहीको बागमती युथ क्लबलाई हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । हेटौंडा–६ स्थित गौरिटार रंगशालामा भएको खेलमा बागमती क्लबलाई ४–० गोलअन्तरले सहजै पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
म्यान अफ द म्याच सशस्त्रबाट अनिष महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । अब उपाधिका लागि शनिबार न्यू रोड टिम (एनआरटी) र एपीएफ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३५० सीसीको बुलेट बाइक पाउनेछ ।