लास्टिक व्यवस्थापन गरिदैँ

हेटौडाः थाहा नगरपालिकाको पालुङमा प्लास्टिक व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । आईएसएसए हेटौंडाको आयोजनामा भएको ३ दिने ‘प्लास्टिक फ्री पालुङ’ कार्यक्रम बुधबार सम्पन्न भएको आईएसएसए हेटौंडा संस्थाकी सहसचिव सिर्जना सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाले दामन–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा वातावरण तथा प्लास्टिक व्यवस्थापन विषयमा प्रस्तुतिकरण गरेको हो । कार्यक्रममा जनकल्याण मावि व्यवस्थापन समिति अध्यक्ष राजीवकुमार स्याङ्तानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संस्थाले ‘३–आर’ (रिड्युस, रिसाइकल र रियुज)को विषयमा प्रदर्शनीसमेत गरेको सुवेदीले बताउनुभयो ।

पालुङलाई प्लास्टिकमुक्त बनाउने र वातावरण स्वस्थ राख्ने उद्देश्यले कार्यक्रम सोमबारबाट सञ्चालनमा आएको हो । कार्यक्रमको पहिलो दिन संस्थाले पालुङको शिखरकोटमा रहेको हिमालयन बोर्डिङ स्कूलमा प्लास्टिक व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम गरेको थियो । दोस्रो दिन पालुङ बजारमा फोहोर व्यवस्थापन कार्यक्रम गरेको थियो ।

सहसचिव सुवेदीका अनुसार नगरपालिकाका बासिन्दाहरुले २० वटा प्लास्टिकको बोतल व्यवस्थापन गर्ने वा संस्थालाई दिनेलाई संस्थाले एउटा विरुवा वितरण गरेको थियो । आईएसएसए हेटौंडाको ११ जनाको टोलीले पालुङमा स्वच्छतामूलक कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले पहिलेदेखि विभिन्न स्थानमा वृक्षरोपन, डस्टबिन वितरणलगायत कार्यक्रम गर्दै आइरहेको छ ।