हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा आज मंलबारबाट सुरु हुन लागेको दोस्रो संस्करणको स्वर्गीय निरज श्रेष्ठ स्मृति विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला क्रिकेट संघका सचिव विनोद बानियाँले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–२ स्थित बालजागृति बोर्डिङ र हेटौंडा–५, पिप्लेस्थित जेनिथ इन्टनेशनल बोर्डिङबीच प्रतिस्पर्धा हुनेछ । मंगलबारकै दोस्रो खेलमा मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माध्यमिक विद्यालय बीच प्रतिस्पर्धा हुनेछ ।
क्रिकेट एसोसिएसन नेपालको आयोजनामा आगामी चैत महिनामा हुन लागेको क्रिकेट प्रतियोगिताका लागि यु–१६ टिम छनोट गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीले बताउनुभयो । लिग कम नआउटको आधारमा प्रतियोगिता सञ्चालनत हुनेछ । जिल्ला क्रिकेट संघका सदस्य सञ्जोक पोखरेलको संयोजकत्वमा हुने प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी भएका टिमहरुले प्राप्त गरेको अंकको अधारमा सेमिफाइनल र फाइनलमा प्रवेश गर्ने प्रतियोगिताका संयोजक पोखरेलले बताउनुभयो ।
प्रतियोगिता आयोजनाका लागि हेटौंडा स्कूूल अफ म्यानेजमेन्ट, हेटौंडा–२ स्थित बालजागृति बोर्डिङ, नारायणी यातायात प्रालि, सिद्धार्थ प्यालेस, हेटौंडा उपमहानगरपालिका वडा–२, विभिन्न स्थानीय निकाय र विभिन्न सहयोगी दाताहरुबाट सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । गतवर्षको तुलना यस वर्षको प्रतियोगितामा पुरस्कार राशि बढाइएको छ ।
प्रतियोगिता आयोजनाका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका वेष्ट बलर र वेष्ट व्याट्सम्यानले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीका लागि हेटौंडा–४ स्थित क्वीक–२० पार्टी प्यालेस र हेटौंडा–१० स्थित रोड हाउस रेष्टुरेन्टले खाना र नास्ताको प्रायोजन गरेको छ ।
पहिलो संस्करणको प्रतियोगिताको उपाधि हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयले जितेको थियो भने उपविजेता हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी बनेको थियो । गत वर्ष ८ वटा निजी विद्यालय र ४ वटा सामुदायिक विद्यालय गरी १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष वासुलाल श्रेष्ठ, कोषाध्यक्ष धिरज श्रेष्ठ र जिल्ला अम्पायर सुनिल बर्तौलाको पनि उपस्थिति रहेको थियो ।