विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलमा सहभागी हुन सफल खेलाडी उत्पादन गरिरहेको हेटौंडामा खेल गतिविधि पनि वृद्धि भइरहेको छ । स्तरीय र पर्याप्त खेल पूर्वाधारको कमी रहेकै अवस्थामा हेटौंडामा खेलकुदका बाक्लै प्रतियोगिताहरु भइरहेका छन् । बागमती प्रदेशको राजधानी भएसँगै हेटौंडामा खेल प्रतियोगिताहरु बढ्न थालेका हुन् । फुटबल, भलिबल, रग्बी र मार्शल आर्टस्का विभिन्न प्रतियोगिता हेटौं डामा आयोजना भइरहेका छन् । स्थानीयस्तरमा विभिन्न खेल प्रतियोगिता व्यापकरुपमा भइरहेका छन् भने प्रदेशस्तरीय र राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने क्रम पनि बढिरहेको छ । खेलकुदका लागि आवश्यक पूर्वाधार र खेल प्रतियोगिताहरु नहुँदासमेत विभिन्न खेलका थुप्रै चर्चित खेलाडी उत्पादन भएको हेटौंडामा पछिल्लो समय खेल पूर्वाधार निर्माण र खेल प्रतियोगिता आयोजनामा भइरहेकाले थप खेलाडी उत्पादन हुने सम्भावना बढेको छ ।

अहिले हेटौंडामा छैटौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता भइरहेको छ । विभागीय टोली, ए डिभिजन क्लब, विदेशी क्लब र स्थानीय क्लबसमेत १२ टिमको सहभागिता रहेको गोल्डकप हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भइरहेको छ । आगामी माघ २७ गते फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । करिब डेढ दशकअघि केन्द्रीय खेलकुद प्रतिष्ठानको रुपमा शिलान्यास गरेको गौरीटार रंगशाला निर्माणमा बागमती प्रदेश सरकारले पनि महत्वका साथ बजेट विनियोजन गर्दै आएका कारण पछिल्लो समय खेल प्रतियोगिताका लागि सहज बन्न थालेको छ । विगतमा हेटौंडा–४ को हुप्रचौर र वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा यस्ता प्रतियोगिता हुने गरेको थियो । करिब दुई वर्ष अघिबाट पिप्ले क्याम्पा रंगशालामा फुटबललगायतका खेल प्रतियोगिता हुने गरेकोमा अब गौरीटार रंगशालासमेत खेल प्रतियोगिता गराउन मिल्ने बनेपछि हेटौंडामा खेलको विकास हुने सम्भावना बढेको हो ।

देशकै मध्यभागमा रहेको र संघीय राजधानीबाट नजिक भएका कारण हेटौंडामा आवश्यक खेल पूर्वाधार निर्माण भएमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सहज हुने निश्चित छ । वि.सं २०४० सालमा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना भएको हेटौं डाको गौरीटार रंगशालालाई गुरुयोजनाअनुसार निर्माण गर्ने हो भने हेटौंडाको खेल गतिविधि वृद्धि गर्न महत्वपूर्ण हुनसक्छ । २३ विगाह क्षेत्रफलमा फैलिएको उक्त रंगशालामा आवश्यक खेल पूर्वाधारहरु निर्माण भएमा हेटौंडामा थुप्रै खेलका आवासीय प्रशिक्षण तथा प्रतियोगिता सहज बन्नेछ । संघ, प्रदेश र स्थानीय सरकारका साथै विभिन्न खेल संघ तथा क्लबहरुले समेत सानातिना खेल पूर्वाधार निर्माण गरिरहेको सन्दर्भमा हेटौंडामा ठूला खेल पूर्वाधार निर्माणलाई प्राथमिकता दिनु आवश्यक छ ।

पर्याप्त खेल पूर्वाधार, विभिन्न खेलका प्रशिक्षक तथा समय–समयमा प्रतियोगिताहरु भइरहने हो भने प्रतिभावान खेलाडी उत्पादन गर्न सकिन्छ । खेल खेलेरै आफ्नो जीवनयापन गर्नसक्छु भन्ने आत्मविश्वास खेलाडीमा विकास गर्न सकेमा देशले अब्बल खेलाडी पाउन सक्छ । यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्नुका साथै खेलाडीको प्रशिक्षण र सुविधामा ध्यान दिनुपर्छ । अहिले तयार भएका सिमित पूर्वाधारबाट खेल प्रतियोगिता आयोजना गर्न सहज बनिरहेको अवस्थामा स्तरीय खेलमैदान (रंगशाला) निर्माण भएमा खेल गतिविधि अझ सहज बन्ने निश्चित छ । हेटौंडामा विभिन्न खेलका दक्ष प्रशिक्षकसहित प्रशिक्षण केन्द्रहरु निर्माण गर्न र खेल प्रतियोगिता सञ्चालनका लागि स्तरीय खेलमैदान निर्माण गर्न सबै तहका सरकारले समन्वयात्मकरुपमा काम गर्नु आवश्यक छ । यसो भएमा हेटौंडा देशकै खेलकुदको प्रमुख केन्द्रसमेत बन्न सक्छ ।