हेमप्रसाद अधिकारी ।

हेटौँडाः हेटौँडा–७, नागस्वतीस्थित नवज्योति माविको व्यवस्थापन समिति अध्यक्षमा हेमप्रसाद अधिकारी चयन हुनुभएको छ । सोमबार वडाअध्यक्ष दामोदर गौतमको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिले अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

माघ ६ गते भएको अभिभावक भेलाले अभिभावकबाट ४ जना सदस्य चयन गरेको थियो । अभिभावक भेलाबाट अभिभावक मध्येबाट अमृत बहादुर खत्री, निशा आले मगर, अनिता बजगाई र निर्मला आचार्य सदस्य चयन हुनुभएको थियो । शनिबार बसेको विद्यालय व्यवस्थापन समितिको बैैठकले हेमप्रसाद अधिकारी र शर्मिला थापा मगरलाई विद्यालय व्यवस्थापन समिति सदस्यमा मनोनित गरेको थियो । सोमबारको बैठकले अधिकारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

२ सय २५ जना विद्यार्थी अध्ययनरत नवज्योति माविको शैक्षिक सुधारका लागि शिक्षक, कर्मचारी र समुदायको साथमा उपयुक्त योेजना बनाएर कार्यान्वयन गर्ने नवनियुक्त अध्यक्ष अधिकारीले बताउनुभएको छ । नगर क्षेत्रका राम्रा विद्यालयसँग पनि सहकार्य गर्ने अधिकारीको भनाइ छ ।