हेटौँडाः हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको ४८ औं अभिभावक भेला सम्पन्न भएको छ । शुक्रबार हेटौंडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यमा अभिभावक भेला गरिएको हो ।
विद्यालयले अभिभावक भेला, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको विद्यालयका शिक्षक राममणि बर्तौलाले जानकारी दिनुभयो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृत रमेश बिडारीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका साथै शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा विद्यालयले २०७९ सालमा कक्षा एकदेखि १२ कक्षासम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयको उत्कृष्ट छात्र करण तिमल्सिना र उत्कृष्ट छात्रा पेष्णा जिम्बा सम्मानित हुनुभएको छ । विद्यालयले उत्कृष्ट शिक्षक बालचन्द्र लामिछाने र उत्कृष्ट शिक्षिका ज्योति ढकाललाई सम्मान गरेको छ भने उत्कृष्ट अभिभावकमा मदन जिम्बालाई सम्मान गरिएको बर्तौलाले बताउनुभयो । विद्यालयले निवृत्त शिक्षकहरुलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रममा जयराम सुवेदीले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि सुवेदीले आगामी दिनमा स्थानीय सरकारले थप सहयोग गर्दै जाने बताउनुभयो । विद्यालयमा धेरै सुधार आएको भन्दै सुवेदीले खुशी व्यक्त गर्नुभयो । लायन्स क्लब अफ गण्डकीले विद्यालयका कक्षा एकदेखि १० सम्मका छात्रालाई शैक्षिक सामग्री र कक्षा ११ र १२ लाई ५ हजार हस्तान्तरण गरेको छ । लायन्स क्लब अफ गण्डकीले विशेषगरी चेपाङ, दलित र जनजाति २० जना छात्रालाई मानवसेवा आश्रमकी उमा भण्डारीको प्रतिनिधित्वमा रकम र शैक्षिक सामग्री वितरण गरेको बर्तौलाले बताउनुभयो ।