फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी छैठौँ संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा धनकुटाको राजारानी क्लब क्वार्टरफाइनलमा प्रवेश गरेसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

शुक्रबार हेटौँडा–६ स्थित गौरीटार रंगशालामा भएको पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै राजारानी क्लबले अन्तिम ८ मा आफ्नो स्थान बनाएको हो । राजारानीको तर्फबाट अजय मार्टिनले ५२ औँ मिनेटमा गोल गरेका थिए । खेलको ६३ औँ मिनेटमा अशोक खवासले गरेको पासको प्रयोग गर्दै सुशील लामाले दोस्रो गोल गरेका थिए ।

म्यान अफ द म्याच राजारानी क्लबका अजय मार्टिन घोषित भएका छन् । शनिबार पहिलो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड र न्यू रोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत् राजारानी क्लबले सेमिफाइनल प्रवेशका लागि सोमबार त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । १२ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा ४ वटा टिम बाहिरिएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई ३५० सीसीको रोयल इन्फिल्ड बाइक प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीले २५–२५ हजार रुपैयाँ र प्रत्येक म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको समापनमा एकजना पत्रकारलाई ५० हजार रुपैयाँ नगद राशिसहित सम्मान गरिनेछ ।