हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा ४ नम्बर वडास्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । यही माघ २६ र २७ गते प्रथम वृहत् वडास्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता हेटौंडा–४, हुप्रचौरमा हुनेछ । प्रतियोगिताअन्तर्गत् महिला तथा पुरुष एथ्लेटिक्स, भलिबल, फुटबल र क्रिकेट हुनेछ । वडाभित्रका विद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउने, विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रस्तुत गराउने र विद्यार्थीहरुको शारीरिक तन्दुरुस्ती बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
शुक्रबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालले प्रतियोगिताबारे जानकारी दिनुभयो । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का विद्यालयहरुले मात्र सहभागी जनाउन पाउने उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी जनाउन यही माघ २५ गतेभित्र खेलाडीको नाम दर्ता गराइसक्नुपर्ने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडास्तरीय प्रतियोगितामार्फत् सामुदायिक र संस्थागत विद्यालयबीचको विभेदको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने, विद्यालयका विद्यार्थीहरुबीच भातृत्व कायम गराउने, खेलप्रतिको रुचि बढाउने उद्देश्ले वडाले विभिन्न वौद्धिक प्रतियोगिताको आयोजना गर्दै आएको उहाँले बताउनुभयो । एउटा कुशल खेलाडी उत्पादन गर्नका लागि विद्यालयस्तरबाट नै विभिन्न प्रतिस्पर्धात्मक प्रतियोगिताहरुको आयोजना गर्नुपर्ने अध्यक्ष सिग्देलले स्पष्ट पार्नुभयो ।
प्रतियोगिता आयोजनाका लागि करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिम तथा खेलाडीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमलाई यस वर्षको उत्कृष्ट विद्यालय घोषणा गर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईं र भूटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव दाहालको पनि उपस्थिति रहेको थियो ।