हेटौँडाः हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतनको २३ औं अभिभावक दिवस बिहिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह भएको हो ।

अभिभावक दिवस समारोहमा विद्यालयका प्रिन्सीपल ईश्वरप्रसाद लामिछानेले विद्यालयको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । एक हजार पाँच सय ४८ जना विद्यार्थी अध्ययनरत जिएस निकेतन मावि अभिभावककै लगानीमा सञ्चालित विद्यालय भएको प्रिन्सीपल लामिछानेले स्पष्ट पार्नुभयो । एसएलसी÷एसईईमा राम्रो नतिजा हासिल गरेको विद्यालयले विद्यार्थीलाई रचनात्मक ढंगले सिकाउने प्रयास गरिरहेको प्रिन्सीपल लामिछानेले बताउनुभयो । बालबालिकाले मोवाइल चलाउने नभई मोवाइलले बालबालिका चलाइरहेको उल्लेख हुँदै प्रिन्सीपल लामिछानेले अहिलेको प्रमुख चुनौति नै मोवाइल भएको बताउनुभयो ।

अभिभावक दिवसको अवसरमा ६ जना अभिभावकलाई सम्मान गरिएको छ । विद्यालयमा नियमित उपस्थित भएर सकारात्मक सल्लाह, सुझाव दिने, आफ्ना बालबालिकाको उचित ध्यान दिने, विद्यालयसँग सहकार्य गर्ने अभिभावकलाई विद्यालयले सम्मान गरेको हो । अभिभावक भेलाको अवसरमा पूर्वविद्यार्थी, वर्षको उत्कृष्ट विद्यार्थी, वार्षिक परीक्षामा कक्षागत प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । अभिभावक दिवसको अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारी, उत्कृष्ट क्लबलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम पोखरेल, पूर्वअध्यक्षहरु केशवबहादुर श्रेष्ठ, पिताम्बर बास्तोलाको पनि आतिथ्य रहेको थियो ।