हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाबाट ६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका ३९ वटा संस्थागत र ९९ वटा सामुदायिक विद्यालयका ६ हजार १ सय ६३ जना विद्यार्थीले एसईईको फर्म भरेका हुन् ।
यस वर्षको एसईई परीक्षा जिल्लाका २६ वटा परीक्षा केन्द्रबाट सञ्चालन हुनेछ । हेटौंडा उपमहानगरपालिकाभित्र १४ वटा र अन्य पालिकामा १२ वटा परीक्षा केन्द्र रहने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अधिकृत उन्नति ढकालले जानकारी दिनुभयो ।
जिल्लाका सबै विद्यालयले विद्यार्थीहरुको एसईई परीक्षा फर्म बुझाइसकेको उहाँले बताउनुभयो । विद्यार्थीहरुको सहजताका लागि जिल्लाका १० वटा स्थानीय तहमध्ये ९ वटामा परीक्षा केन्द्र कायम गरिएको उहाँले बताउनुभयो । कैलाश गाउँपालिकामा परीक्षा केन्द्र तोक्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।