हेटौंडाः स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा मकवानपुर जिल्लाका स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिका पहिलो भएको छ । जिल्लामा रहेका १० स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० को स्वमूल्यांकनमा हेटौंडा उपमहानगरपालिकाले ८८.५ अङ्क प्राप्त गर्दै पहिलो भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थाअन्तर्गत् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ तर्जुमा गरी स्वमूल्यांकन गराउँदै आएको छ । स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीहरुको लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न यस्तो मूल्यांकन सहयोगी हुने बताइएको छ ।
स्थानीय तहको विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिनुका साथै आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न पनि संस्थागत क्षमता स्वमूल्यांकन उपयोगी मानिएको छ । गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन यस्तो मूल्यांकन गर्ने गरिएको हो ।
स्वीकृत कार्यविधिअनुसार प्रत्येक स्थानीय तहले आफ्ना कार्यप्रगति पेश गर्ने गरेका छन् । मकवानपुर जिल्लाका ५ स्थानीय तहले अपुरो विवरण पेश गरेका कारण नतिजा शूल्य रहेको छ । पूरा विवरण पेश नगर्ने स्थानीय तहमा बकैया गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका रहेका छन् ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनका लागि १० वटा सूचक तोकिएको छ । ९ पूर्णाङ्कको शासकीय प्रबन्धमा हेटौंडा उपमहानगरपालिकाले ८ अङ्क पाएको छ । संगठन तथा प्रशासनमा ८ पूर्णाङ्कमा ८ अङ्क र वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ११ पूर्णाङ्कमा ९ अङ्क प्राप्त गरेको छ । यस्तै, वित्तीय एवम् आर्थिक व्यवस्थापनको ११ पूर्णाङ्कमा ११ अङ्क र सेवा प्रवाहको १६ पूर्णाङ्कमा १५ अङ्क प्राप्त गरेको हो । न्यायिक कार्यसम्पादनको ७ पूर्णाङ्कमा ७ अङ्क र भौतिक पूर्वाधारको १३ पूर्णाङ्कमा ११ अङ्क प्राप्त गरेको छ । सामाजिक समावेशीकरणमा १० पूर्णाङ्क रहेकोमा ७.५ अङ्क, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ९ पूर्णाङ्क रहेकोमा ८ अङ्क र सहकार्य तथा समन्वयमा ६ पूर्णाङ्क रहेकोमा ४ अङ्क गरी ८८.५ अङ्क प्राप्त गर्दै हेटौंडा उपमहानगरपालिका पहिलो भएको हो ।
जिल्लाका भीमफेदी गाउँपालिकाले ६४.७५ अङ्क, कैलाश गाउँपालिकाले ६१.५ अङ्क, ईन्द्रसरोवर गाउँपालिकाले ६१.७५ अङ्क र बाग्मती गाउँपालिकाले ५७.७ अङ्क प्राप्त गरेका छन् । गत आर्थिक वर्ष २०७८÷७९ मा बागमती गाउँपालिकाले ४३.५, बकैया गाउँपालिकाले ५६.२५, भीमफेदी गाउँपालिकाले ६५, हेटौंडा उपमहानगरपालिकाले ६३.२५, ईन्द्रसरोवर गाउँपालिकाले ५३.२५, कैलाश गाउँपालिकाले ४९.५, मकवानपुरगढी गाउँपालिकाले ५६.७५, मनहरी गाउँपालिकाले ६७.७५, राक्सिराङ गाउँपालिकाले ५६ र थाहा नगरपालिकाले ८६.२५ अङ्क प्राप्त गरेका थिए । उक्त आर्थिक वर्षमा थाहा नगरपालिका सबैभन्दा बढी अङ्क ८६.२५ प्राप्त गर्दै पहिलो भएको थियो ।