हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा शुक्रबार शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ४ नम्बर वडास्थित शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालले कार्यक्रमबारे जानकारी गराउनुभयो ।
वडाभित्रका प्रत्येक विद्यालयबाट विद्यार्थीले निर्माण गरेको विज्ञान, गणित र सामाजिक विषयसँग सम्बन्धित सामग्रीको स्टल राखिने जनाइएको छ । प्रदर्शनीमा राखिएका प्रत्येक विषयका शैक्षिक सामग्रीको मूल्यांकन गरी पुरस्कृत गरिने बताइएको छ । हरेक विषयमा प्रथम, द्वितीय र तृतीय घोषणा गरी शैक्षिक सामग्री निर्माण गर्ने विद्यार्थीको समूह तथा विद्यालयका शिक्षकलाई अलग–अलग पुरस्कृत गरिनेछ ।
कार्यक्रममा विद्यालयका विद्यार्थीको सामूहिक नृत्य तथा एकल गायन प्रतियोगिता गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । गायन तथा नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयो । कार्यक्रममा १० हजार विद्यार्थी तथा अभिभावक सहभागी भएर अवलोकन गर्ने आयोजकको अनुमान छ ।
वडाभित्र सञ्चालित विद्यालयले गरेका राम्रा अभ्यासबारे प्रस्तुति गराउने, शैक्षिक प्रतिस्पर्धा, गुणस्तर अभिवृद्धि र मौलिक कलाको रक्षा गर्न कार्यक्रम आयोजना गरिएको जनाइएको छ । वडाले गत वर्ष पनि शैक्षिक प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो ।