प्रदेश सभा सदस्यहरु हस्ताक्षर गर्दै ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा आज पनि रुकुम हत्याकाण्डको विरोध भएको छ । आज आइतबार बागमती प्रदेशको प्रदेशसभा भवन अगाढि स्वतन्त्र जनदबाव अभियन्ताहरुले २ घन्टा धर्ना दिएका छन् ।

जेठ २५ गतेदेखि २९ गतेसम्म ५ दिन हेटौंडाको बुद्धचोकमा रुकुम घटनाको निष्पक्ष छानविन गर्न हस्ताक्षर अभियान चलाइएको अभियानका संयोजक अनिल कुमार खातीले बताउनुभयो । त्यस्तै स्वतन्त्र जनदबाव अभियानले राष्ट्रिय समावेशी आयोगकी कार्यवाहक अध्यक्ष बिष्णु ओझा, बागमती प्रदेशको मुख्य न्यायाधीवक्ता ओम थपलिया, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त लामा, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिं राठौर लगायतलाई रुकुम हत्यकाण्डको बारेमा ध्यानाकर्षण गराएको जनाएको छ ।

प्रदेश सांसदहरुले पनि रुकुम हत्याकाण्डको विरोधमा हस्ताक्षर गरेका छन् । बागमती प्रदेशका सांसद शोभा शाक्यले रुकुम घटनाको विरोधमा हस्ताक्षर गर्नुहुँदै रुकुम हत्याकाण्ड नरसंहार भएको बताउनुभयो । नेपालमा पहिलेदेखि नै जातीय भेदभाव निर्मूल गर्न संविधानमा पेश गरे तापनि हट्न नसकेको उहाँले बताउनुभयो । उहाँले जातीय विभेदका निम्ती अब राजनीतिक जागरण नै सुरु गनुपर्ने समय आएको बताउनुभयो । नेपालमा अब छुवाछुत र जातीय भेदभाव विरुद्ध अभियान संचालन गर्नुपर्ने समय आएका उहाँले भनाई छ ।

सांसद रमेश पौडेलले रुकुम नरसंहार एकाइसौं शताब्दीको मानवजातिको लागि ठुलो कलंक भएको बताउनुभयो । उहाँले घटनामा संलग्न को–को छन् उनीहरु जतिसुकै पहुँचदार भएपनि सबैलाई कानुनको कठघरामा ल्याएर कानुनी कारबाही गर्न जोडदार माग गर्नुभएको छ । निष्पक्ष न्याय सम्पादन गर्ने क्रममा कहिँकतैबाट पनि दबाव, प्रभाव नहोस् भन्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । अभियानका संयोजक अनिल कुमार खातीले आज संकलन भएको हस्ताक्षर बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाएर सम्पन्न हुने जानकारी दिनुभयो ।